Nov 10 2026 | २०८३, कार्तिक २५ गते

२०८३, कार्तिक २५ गते
  • यो साता चर्चामा :
images

ओली–प्रचण्ड मिल्ने कुराले सानेपामा हलचल, बाघचालको दाउमा देउवा

ओली–प्रचण्ड मिल्ने कुराले सानेपामा हलचल, बाघचालको दाउमा देउवा

  • बुधवार, फाल्गुण २५ २०७८

  • 1.2K
    SHARES

  • ओली–प्रचण्ड मिल्ने कुराले सानेपामा हलचल, बाघचालको दाउमा देउवा

    काठमाडौँ – सरकारको नेतृत्व गरिरहेको दल नेपाली कांग्रेसभित्र आगामी चुनावमा गठबन्धन कायम गर्ने कि नगर्ने भन्नेमा तीव्र मतभेद देखिएको छ । प्रधानमन्त्री समेत रहनुभएका सभापति शेरबहादुर देउवाले गठबन्धन दल मिलेरै चुनावमा जाने संकेत गरे पनि शीर्ष तहमा यसबारे सहमति जुट्न सकेको छैन ।

    आज कांग्रेसले एक महिने निर्वाचन अभियान घोषणा गरेको छ । तर, गठबन्धनका विषयमा भने पार्टी मौन बसेको छ ।

    उपसभापति पूर्णबहादुर खड्काले चुनावी गठबन्धनबारे कांग्रेसले समय आएपछि सर्वसम्मत निर्णय लिने दाबी गर्नुभयो । केन्द्रीय कार्यसमिति बैठकबाट एमसीसी अनुमोदन गर्दा जस्तै एकताबद्ध र सर्वसम्मत भएर निर्वाचनमा गठबन्धन गर्ने नगर्ने बारेमा निर्णय गरिने उहाँले बताउनुभयो । अहिले नै तालमेल गर्ने कि नगर्ने भन्ने निर्णय लिनु अपरिपक्व हुने उहाँको भनाइ छ ।

    नेपाली कांग्रेसमा संस्थापनइतर समूह धोकेबाज प्रवृत्ति भएका माओवादी र नेकपा एससँग मिलेर चुनावी तालमेल गर्न नहुने पक्षमा उभिएको छ । संस्थापनइतर समूहको नेतृत्व गरिरहेका शेखर कोइराला, धनराज गुरुङ, मीनेन्द्र रिजाल लगायतका नेताहरु एमसीसी प्रकरणको दृष्टान्त दिँदै कम्युनिष्टलाई कांग्रेसले उद्धार गर्न नहुने बताइरहेका छन् ।

    संस्थापन समूहकै कतिपय नेताहरु पनि कांग्रेस एक्लै चुनावमा जानु हितकर हुने बताइरहेका छन् । सरकारमै रहेर सरकारको विरोधमा सडक तताउनेहरुसँग तालमेल गर्दा धोका मात्रै पाइने विश्लेषण कांग्रेस नेताहरुको छ । उपसभापति गुरुङले त माओवादी र नेकपा एसलाई कांग्रेसरुपी हात्तीको ठूलो कान देखेर चमेराहरु ओत लाग्न खोजेको आरोप नै लगाउनुभयो ।

    गुरुङको यो अभिव्यक्तिले सत्ता गठबन्धनभित्र हलचल नै मच्चाएको छ । सायद त्यसैले होला हिजो पार्टीको बैठकमै सभापति देउवाले गठबन्धन विरोधी अभिव्यक्ति नदिन नेताहरुलाई सचेत पार्नुभएको थियो । आज माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पनि गठबन्धनको विरोध गरेर कांग्रेस नेताहरुले आफूहरुको अपमान गर्न नमिल्ने बताउनुभयो ।

    आज पार्टीको प्रशिक्षण कार्यक्रममा उहाँले आफूहरुलाई हात्तीको कानमा बसेका चमेरा भनेर दिइने अपमानजनक अभिव्यक्ति सह्य नहुने चेतावनी पनि दिनुभयो । कांग्रेसलाई आफूहरुले सत्ताको सिंहासनमा पु¥याएको कुरा हेक्का राख्न उहाँको आग्रह छ ।

    यसैबीच नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले आगामी चुनावमा मिलरै जाने सहमति सत्ता गठबन्धनमा लगभग भइसकेको दाबी गर्नुभयो । आफूहरु अहिले देशभर आ–आफ्नो हैसियत परीक्षणका क्रममा रहेको र उचित मूल्यांकन गरेर चुनावी तालमेल गर्नेबारे छलफल गरिरहेको उहाँले बताउनुभयो ।

    माओवादी र नेकपा एस एमालेसँग मुकाविला गर्न कांग्रेससँग मिलेर चुनावी तालमेल गर्नुपर्ने पक्षमा प्रष्ट छन् । तर नेपाली कांग्रेस भने चुनावी गठबन्धनबारे स्पष्ट भइसकेको छैन ।

    अहिले नै गठबन्धन नगर्ने घोषणा गरिदिए एमाले र माओवादीबीच फेरि चुनावी तालमेल भइदिन सक्ने भय कांग्रेस नेतृत्वमा देखिन्छ । त्यसैले गठबन्धनका नाममा माओवादी र नेकपा एसलाई अल्झाइ राखेर कम्युनिष्ट एकता रोक्दै निर्वाचनमा होमिने रणनीतिमा कांग्रेस रहेको कतिपय विश्लेषकहरु बताउँछन् ।


    बुधवार, फाल्गुण २५ २०७८०७:४१:१५
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij