काठमाडौँ । लकडाउन पछि खुलेको सेयर बजारमा व्यापक उतारचढाव देखिएको छ । दुईदिन तीन पटकसम्म सकारात्मक सर्किट ब्रेक लागेको बजारमा साताको कारोबारको अन्तिम दिन (बिहीबार) एक्कासी नकारात्मक सर्किट ब्रेकर लागेको छ ।
सकारात्मक वा नकारात्मक जुनसुकै सर्किट ब्रेक लागेपनि तीन पटकसम्म लाग्दा सेयर कारोबार निर्धारित समयभरि हुन पाएन । लगानीकर्ता आफै निरन्तरको सर्किट ब्रेकबाट अचम्मित बनेका छन् । अहिले लगानीकर्ताको मनस्थितीकै कारण कहिले सकारात्मक त कहिले नकारात्मक सर्किट ब्रेक लागेको जानकारहरु बताउँछन् ।
सेयर बजारमा लगानीकर्ताको मनोविज्ञान सबैभन्दा प्रमुख पक्ष हो । अहिले बजारमा लगातार सर्किट ब्रेक लागेपछि पुरा समय कारोबार नहुँदा किन्नेले किन्न र बेच्नेले बेच्न सहजै पाएका छैनन् ।
अहिले बैंकमा प्रशस्त तरलता छ । बैंकहरुबाट ऋण प्रवाह पनि न्युन भएको छ । नयाँ ऋणको माग नै न्युन भएको नेपाल बैंकर्स एसोसियसनको तथ्यांकले देखाउँछ । लगानी गर्ने ठाउँ खुम्चिएपछि सेयर बजारतिर लगानी डाइभर्ट भएको अनुमान लगानी कर्ताको छ ।
पुँजीगत लाभकरको सन्दर्भ पनि ५ प्रतिशतमा टुंङ्गिएको छ । यता बैंकको ब्याजदर समेत घटेको सन्दर्भ सबै पक्षबाट बजार सकारात्मक देखिएको छ । अहिले सेयर बजारमा लगानी गर्ने उपयूक्त समय भएपनि ४ घण्टासम्म कारोबार नहुन दुखद भएको लगानी कर्ताहरु बताउँछन् ।
सातामा अन्तिम कारोबार दिन नेप्से परिसूचक ८०.४१ अंकले घटेर १ हजार २ सय ५६.११ बिन्दुमा ओर्लेको छ । अघिल्लो दिनको तुलनामा परिसूचक ६.०२ प्रतिशतले कम हो ।
अघिल्ला दुई दिन ६र६ प्रतिशतले बढेर सकारात्मक सर्किट ब्रेकरमार्फत निर्धारित कारोबार अवधि अघि नै बन्द भएको नेप्सेमा बिहीबार ऋणात्मक सर्किट ब्रेकर लागेको हो ।
बजार खुलेदेखि नै घट्न थालेको नेप्से १२ स् ४० बजे ६ प्रतिशतभन्दा केही धेरैले घटेपछि सो दिनको कारोबार नै बन्द गरिएको हो । सो दिन ४७ करोड ६६ लाख रुपैयाँ बराबरको सेयर कारोबार भएको छ ।