Jul 26 2026 | २०८३, श्रावण १० गते

२०८३, श्रावण १० गते
  • यो साता चर्चामा :
images

न्युजिल्यान्डकी प्रधानमन्त्रीको विवाह रद्द भएपछि भन्छिन्– जीवन यस्तै हो !

न्युजिल्यान्डकी प्रधानमन्त्रीको विवाह रद्द भएपछि भन्छिन्– जीवन यस्तै हो !

  • आइतवार, माघ ९ २०७८

  • 641
    SHARES

  • न्युजिल्यान्डकी प्रधानमन्त्रीको विवाह रद्द भएपछि भन्छिन्– जीवन यस्तै हो !

    न्युजिल्यान्डकी प्रधानमन्त्री जसिन्दा अर्डेनले आफ्नो विवाह हालका लागि रद्द गरेकी छन् । राष्ट्रले कोभिड–१९ को ओमिक्रोन भेरियन्ट समुदायमा फैलने गति कम गर्न नयाँ प्रतिबन्धहरू लगाएकाले आफ्नो विवाह रद्द गरेको प्रधानमन्त्री अर्डेनले आइतबार पत्रकारहरूसँग बताइन् ।

    एउटा विवाह समारोहबाट ओमिक्रोन संक्रमण समुदायमा फैलिएपछि न्युजिल्यान्डले आइतबार मध्यरातदेखि मास्कसम्बन्धी र भेला हुन पाउने संख्या सीमित पार्ने नियम लागु गर्दै छ ।

    न्युजिल्यान्ड कोभिड–१९ बाट जोगिन तयार पारेको ‘रेड सेटिङ’ रूपरेखातर्फ अघि बढ्दै छ । यसअनुसार मास्क लगाउनुपर्नेछ । रेस्टुरेन्ट, बार तथा विवाहजस्ता इन्डोर समारोहमा सहभागी हुन पाउने संख्या १०० जनामा सीमित पारिएको छ । खोप पास प्रयोग नगर्ने कार्यक्रमस्थलमा भने त्यस्तो संख्या २५ जनामा सीमित पारिएको प्रधानमन्त्री अर्डेनले बताइन् ।

    “मेरो बिहे अघि बढ्ने छैन,” उनले पत्रकारहरूसँग भनिन् । यस्तै अवस्थामा परेका जो कोहीको लागि आफू क्षमाप्रार्थी रहेको उनको भनाइ छ ।

    अर्डेनले आफ्नो विवाहको मिति खुलासा गरेकी थिइनन् । तर, उनको विवाह हुनै लागेको हल्ला चलेको थियो ।

    लामो समयदेखिको पार्टनर र फिसिङ शो होस्ट क्लार्क गेफोर्डसँगको विवाह रद्द भएकोमा कस्तो लागेको छ भनी पत्रकारहरूले प्रश्न सोधेपछि अर्डेनले जवाफ दिइन्, “जीवन यस्तै हो ।” अर्डेन अहिले ४१ वर्ष पुगेकी छन् ।

    “म योभन्दा फरक छैन, म यो भन्ने हिम्मत गर्छु । अरू हजारौँ न्युजिल्यान्डर्सले महामारीबाट विनाशकारी प्रभाव महसुस गरेका छन्, जसमा सबैभन्दा धेरै दुःखको कुरा गम्भीर बिरामी भएका बेला पनि प्रियजनको साथमा रहन असमर्थ छन् । त्यो मैले भोगेको दुःखभन्दा कयौँ परको कुरा हो ।”

    न्युजिल्यान्डले सन् २०२० को मार्चदेखि विदेशीका लागि सीमा बन्द गरेको छ । त्यहाँको सरकारले जनवरी मध्यबाट सीमा खोल्ने योजना छिमेकी अष्ट्रेलियामा ओमिक्रोन प्रकोप हुन सक्ने सम्भावनाका कारण फेब्रुअरीको अन्त्यसम्म धकेलेको छ ।

    न्युजिल्यान्डका १२ वर्षदेखि माथिका करिब ९४ प्रतिशत नागरिकले पूर्ण मात्रा खोप लगाएका छन् भने ‘बुस्टर डोज’का लागि योग्य झन्डै ५६ प्रतिशले बुस्टर डोज पनि लगाएका छन् ।

     


    आइतवार, माघ ९ २०७८०३:११:३३
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij