काठमाडौँ । शेयर बजार परिसूचक नेप्से लगातार चौथो दिन बढेको छ । साताको चौथो दिन आज समेत शेयर बजार १८.०६ अंकले बढेर २७६९.१३ बिन्दुमा पुगेको छ ।
आज बजार ०.६६ प्रतिशतले वृद्धि भयो । बजार बढ्न थालेसँगै कारोबार रकममा समेत सूधार देखिएको छ । अघिल्लो साता दुई÷तीन अर्बमा सिमित दैनिक कारोबार आज भने ६ अर्ब ६१ करोड २६ लाख ४८ हजार ८ सय ४० रुपैयाँको भयो ।
यो रकम मंगलबारको तुलनामा समेत बढेको छ । आज कुल २२८ वटा कम्पनीको ७५ हजार ६ सय १२ वटा कारोबार भयो । यी कारोबारमा कुल १ करोड १५ लाख ९२ हजार २ सय ३५ कित्ता शेयर किनबेच भएको छ । आज जीवन बिमा कम्पनी उपसमूहको परिसूचक सबैभन्दा धेरै बढेको छ ।
उत्पादन, जलविद्युत, होटल तथा पर्यटन र विकास बैक समुहमा भने सामान्य अंकको गिरावट आएको छ । आज ६९ कम्पनीको मुल्यमा कमी आउदा ७ कम्पनीको मूल्य स्थिर रहेको नेप्सेले जनाएको छ ।