काठमाडौँ । न्यायाधीशहरुको इजलास बहिष्कारकाबीच प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराले आफ्नो एकल इजलासमा ५ मुद्दाको सुनुवाइ गर्नुभएको छ ।
उहाले दुई मुद्दामा कारण देखाऊ आदेश जारी गर्नुभएको छ भने एउटालाई तामेलीमा पठाउने र एउटाको निवेदन फिर्ता हुने आदेश गर्नुभएको छ । यस्तै, एक मुद्दामा कैफियत प्रतिवेदन झिकाउने उहाको इजलासले आदेश गरेको हो ।
जनता समाजवादी पार्टीका लुम्बिनी प्रदेश सभाका निर्वतमान सांसद सन्तोषकुमार पाण्डेले सभामुख पूर्ण घर्तीविरुद्ध अदालतको अवहेलनामा दायर गरेको मुद्दालाई तामेलीमा राखिएको छ ।
यस्तै, भुवन कुमार दाहालले मधु कुमारी चौधरीलगायत ३ जनाविरुद्ध दायर गरेको सम्पति शुद्धीकरण निवेदन फिर्ता हुने आदेश भएको छ ।
ज्ञानबहादुर जोगीको हकमा अम्बिका विश्वकर्मा र साजन सुनारको हकमा सार्वजनिक प्रतिरक्षक समाज नेपालसँग आवद्ध अधिवक्ता नवल किशोर साहले दायर गरेको बन्दीप्रत्यक्षीकरण मुद्दामा कारण देखाऊ आदेश जारी भएको छ ।
यसैगरी, कालोबजार तथा अन्य केही सामाजिक अपराध सम्बन्धी कसूरमा रोशन जैसवालले दायर गरेको मुद्दामा कैफियत प्रतिवेदन झिकाउने आदेश भएको सर्वोच्च अदालतले जनाएको छ ।