काठमाडौँ । नेकपा एमाले पालिका अधिवेशन आज हुँदै छ । महाधिवेशनअन्र्तगत यसअघि वडा अधिवेशन गरेको एमालेले आज देशैभरका पालिका अधिवेशन गर्न लागेको हो ।
पालिका अधिवेशनको उद्घाटन अध्यक्ष केपी शर्मा ओलीले गर्नुहुने छ । पाटी केन्द्रीय कार्यालय थापाथलीबाट दिउँसो १ बजे अध्यक्ष ओलीले एकैपटक भर्चुअल माध्यमबाट पालिका अधिवेशनको उद्घाटन गर्ने कार्यक्रम रहेको पार्टी कार्यालय सचिव शेरबहादुर तामाङले जानकारी दिनुभयो ।
एमालेले ७५३ स्थानीय तहमा अधिवेशन गर्न लागेको हो । बाढी, पहिरो र डुवानले प्रभावित भएकाबाहेक सबैमा अधिवेशन हुने तामाङले बताउनुभयो । अधिवेशनमार्फत ५ सदस्यीय पदाधिकारी छानिने छन् । अध्यक्ष –१, उपाध्यक्ष–१, सचिव– १ र उप–सचिव –२ चुनिनेछन् ।
पदाधिकारीसहित गाउँपालिका र नगरपालिकामा ७५ तथा उप–महानगरपालिकामा ८५ र महानगरपालिकामा १०१ सदस्यीय कमिटी चयन हुनेछ । एमालेले यसअघि कात्तिक ६ गते वडा अधिवेशन गरेको थियो । एमालेले दशौं राष्ट्रिय महाधिवेशन आगामी मंसिर १० देखि १२ गते चितवनमा गर्ने तयारी गरेको छ ।