सत्तारुढ नेकपा एमाले र प्रतिपक्षी नेपाली कांग्रेसको माग अनुसार प्रदेश १ को प्रदेशसभा बैठक आगामी कात्तिक १५ गतेसम्मलाई स्थगित भएको छ।
मुख्यमन्त्री भीम आचार्यले विश्वासको मत लिने प्रयोजनका लागि आइतवार मध्यान्ह साढे १२ बजे बस्ने गरी डाकिएको प्रदेशसभा बैठक आठ दिनलाई सारिएको हो।
प्रदेशसभा सचिवालयका सचिव गोपाल प्रसाद पराजुलीका अनुसार अब प्रदेशसभाको नवौँ तथा हिउँदे अधिवेशनको चौथो बैठक कात्तिक १५ गते सोमबार दिउँसो साढे १२ बजे बस्नेछ।
‘कांग्रेस र एमालेले बैठक मिति परिवर्तन गरी पाउन लिखित अनुरोध भई आएका कारण प्रदेश सभा नियमावली २०७४ को नियम ६ को उपनियम (३) बमोजिम आइतबारका लागि निर्धारित कार्यसूची बमोजिम नै हुने गरी कात्तिक १५ गते दिनको साढे १२ बजे बैठक बस्नेछ’, पराजुलीले सूचनामा भन्नुभएको छ ।
मुख्यमन्त्री आचार्यले विश्वासको मत लिन प्रयोजनका लागि आइतबार डाकिएको प्रदेशसभा १ को बैठक रोक्न सत्तारुढ नेकपा एमालेले सभामुखलाई पत्र पठाएको थियो ।
मुख्यमन्त्री आचार्यले पेश गरेको विश्वासको मत लिने प्रस्तावमाथि छलफल र मत विभाजन कार्यसूची तय भइसकेको अवस्थामा एमाले संसदीय दलले पनि बैठक रोक्न भनेको थियो ।
प्रदेश १ स्थित एमाले प्रमुख सचेत बुद्धिकुमार राजभण्डारीले सभामुख सभामुख प्रदीपकुमार भण्डारीलाई पत्र लेखेर बैठक आगामी कात्तिक १५ गतेसम्मलाई स्थगित गर्न भन्नुभएको थियो ।
यस पहिले सरकारमा आफ्नो दाबी गरिरहेको नेपाली कांग्रेसले आचार्यलाई विश्वासको मत दिने कार्यक्रमका लागि बैठक रोक्न माग गरेको थियो।
आफ्ना केही सांसदले फ्लोर क्रस गरेर विश्वासको मत दिने खबर पाएलगत्तै कांग्रेसले प्रदेशसभा सचिवालयमा निवेदन दिएको थियो।
कांग्रेसले बैठक स्थगित गर्न सुरुमा माग गरेपछि एमालेले पनि आफूहरु महाधिवेशन केन्द्रित भएकाले प्रदेशसभा रोक्न भन्दै पत्र पठाएको थियो।