काठमाडौँ । नेकपा एमालेमा फेरि १० बुँदे सहमतिसम्बन्धी लफडा सुरु भएको छ । पार्टी विभाजनताका माधव नेपालको साथ छाडेका नेताहरुले एकताको मुख्य सुत्रका रुपमा लिएका १० बुँदे सम्झौतालाई अध्यक्ष केपी शर्मा ओलीले औचित्यहीन भनेपछि एमालेमा असन्तुष्टि चुलिएको हो ।
निवर्तमान प्रधानमन्त्री ओलीले पटक पटक प्रतिनिधिसभा विघटन गर्दा माधव नेपाल पक्षमा रहेर ओलीको कदमविरुद्ध उभिएका तेस्रो धारका नेताहरुले अहिले उक्त १० बुँदे सम्झौता अक्षरशः कार्यान्वयन हुनुपर्ने माग गर्दै आएका छन् ।
सो सम्झौता कार्यान्वयनमा आइसकेको दाबी गर्दै आउनुभएका अध्यक्ष ओलीले हिजो बागमती प्रदेश अधिवेशन आयोजक कमिटीको बैठकमा ‘१० बुँदे, १० बुँदे भनेर ट्याङ ट्याङ नगर्न’ चेतावनी दिनुभएको थियो । उहाँले माधव नेपालले पार्टी नफुटाउन् भन्ने उद्देश्यले मात्र १० बुँदे गरिएको भन्दै पार्टी फुटिसकेपछि त्यसको औचित्य नरहेको बताउनुभएको थियो ।
आज बसेको स्थायी कमिटी बैठमा पनि यसबारे छलफल भएको एमाले प्रवक्ता प्रदीप ज्ञवालीले बताउनुभयो । उहाँले आज दश बुँदे कार्यान्वयनको सिलसिलामा सहजीकरण गर्न बनेको कार्यदलको बैठक पनि बसेको र भोलिको फेरि बस्ने स्थायी कमिटीमा पनि केही सुझावहरु पेश हुने उहाँले बताउनुभयो । अध्यक्ष ओलीको अभिव्यक्तिको बचाउ गर्दै प्रवक्ता ज्ञवालीले दश बुँदेमा नै अल्झिएर बस्न हुन्न भन्ने अध्यक्षको आशय रहेको बताउनुभयो ।
अध्यक्ष ओलीको अभिव्यक्तिलाई लिएर तेस्रो धारका नेताहरुले असन्तुष्टि जनाएका छन् । १० बुँदे सम्झौता गर्दा संस्थापन इतर पक्षका कार्यदल संयोजकसमेत रहेका नेता भीम रावल र घनश्याम भुसालले सार्वजनिक रुपमै असन्तुष्टि पोखेका छन् । एमाले उपाध्यक्ष समेत रहनुभएका नेता रावलले पार्टीलाई एकताबद्ध बनाएर लैजाने हो भने सहमति कार्यान्वयन हुनुपर्ने जवाफ ओलीलाई फर्काउनुभएको छ ।
‘१० बुँदे सहमति ‘एकतारे’ होइन, पार्टी एकता बचाएर देशहितका लागि बजाइएको ११ तारे बिगुल हो’, रावलले ट्वीटरमा जवाफ फर्काउँदै लेख्नुभएको छ, ‘यसको धून संस्थागत भइसकेको छ । सबैले ठण्डा दिमागले सुन्नु स्वास्थ्यका लागि लाभदायक छ ।’ यस्तै नेता घनश्याम भुसालले ओलीको अभिव्यक्तिको आलोचना गर्नुभएको छ ।
अध्यक्ष ओलीले १० बुँदे सहमति कार्यान्वयन गर्ने प्रतिवद्धता जनाएकै कारण तेस्रो धारका नेताहरुले अन्तिम समयमा माधव नेपाललाई नयाँ पार्टी बनाउन सघाएका थिएनन् ।