काठमाडौँ । बागमती प्रदेशमा एकीकृत समाजवादी र नेपाली कांग्रेसबीच आलोपालो सत्ता चलाउने सहमति भएको छ । वर्तमान मुख्यमन्त्री अष्टलक्ष्मी शाक्यको बहिर्गमनपछि आगामी सत्ताको नेतृत्वको विषयमा सहमति भएको हो ।
शाक्यको बहिर्गमनपछि एकीकृत समाजवादीका संसदीय दलका नेता राजेन्द्र पाण्डे मुख्यमन्त्री बन्नुहुने छ । त्यसपछि कांग्रेस संसदीय दलका नेता इन्द्र बानियाँ मुख्यमन्त्री बन्ने सहमति भएको हो ।
यसअघि प्रदेश १ र बागमती प्रदेशको मुख्यमन्त्री एकीकृत समाजवादीलाई दिने सहमति भएको थियो । सोही सहमतिबमोजिम गठबन्धनले सर्कुलर गरे पनि प्रदेशमा कांग्रेसले आफ्नो नेतृत्वको दाबी नछोडेपछि नयाँ सहमति भएको हो ।
तर, यो भद्र सहमतिमात्रै भएको र सबै प्रदेशमा यही अनुसार भएमा मात्रै बागमतीमा पनि कार्यकाल आधा–आधा हुने बताइएको छ । शाक्यको बहिर्गमन केही दिनमै हुँदै छ । उहाँले विश्वासको मत लिने प्रस्ताव प्रदेश सभा बैठकमा टेबल गरिसक्नुभएको छ ।