काठमाडौँ । सरकारले अविरल वर्षापछि आएको बाढी–पहिरो र डुबानमा परेकाहरूको खोजी तथा उद्धारमा निजी कम्पनीका हेलिकोप्टर पनि प्रयोग गर्ने निर्णय गरेको छ । पछिल्ला तीन दिन लगातारको वर्षपछिको विपत्मा नेपाली सेनाको मात्रै हेलिकोप्टर प्रयोग भएकोमा अपुग हुने देखिएपछि गृह मन्त्रालयले निजी कम्पनीका हेलिकोप्टर पनि प्रयोग गर्ने निर्णय गरेको हो ।
बुधबार बिहान गृहमन्त्री खाँणको पहलमा मन्त्रालयमा गृहसचिव टेकनारायण पाण्डे, संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका सचिव यादव कोइराला, पर्यटन मन्त्रालयका वायुसेवा हेर्ने सहसचिव बुद्धिसागर लामिछाने, निजी वायुसेवा कम्पनीहरूको एसोसिएसनका कार्यकारी निर्देशक कमलेशकुमार वर्मा र गृह मन्त्रालयको शान्ति सुरक्षा महाशाखाका उपसचिव दिलकुमार तामाङसहितको बैठक बसेको थियो ।
बैठकमा विपत्मा परेकाहरूको खोजी तथा उद्धारमा निजी हेलिकोप्टर प्रयोग गर्नुपर्ने ब्रिफिङ भएको थियो । निजी वायुसेवा कम्पनीहरूको एसोसिएसनका कार्यकारी निर्देशक वर्माले विपत्मा परेकाहरूको खोजी तथा उद्धार गर्ने दायित्व आफूहरूको पनि भएको भन्दै सरकारले खोजेमा आफूहरू सेवा दिन तयार रहेको बताएका थिए । उनले बैठकमा निजी वायुसेवा कम्पनीसँग ३५ हेलिकोप्टर भएको पनि जानकारी दिएका थिए ।
निजी क्षेत्रका हेलिकोप्टहरू कहाँ छन् भन्ने सूचना एसोसिएसनले गृह मन्त्रालयलाई उपलब्ध गराउने र गृहले आवश्यकता अनुसार खटाउने सहमति पनि भएको गृहमन्त्रीको सचिवालयले जनाएको छ । गृह मन्त्रालयको शान्ति सुरक्षा महाशाखाले त्यसको समन्वयन गर्नेछ । निजी हेलिकोप्टर प्रयोग भएबापतको भुक्तानी गृह मन्त्रालयले दिने पनि सहमति भएको छ ।