Nov 08 2026 | २०८३, कार्तिक २३ गते

२०८३, कार्तिक २३ गते
  • यो साता चर्चामा :
images

देउवा सरकारको १०० दिने उपलब्धि सार्वजनिक, खोप कूटनीतिमा सफल भएको दाबी

देउवा सरकारको १०० दिने उपलब्धि सार्वजनिक, खोप कूटनीतिमा सफल भएको दाबी

  • बुधवार, कार्तिक ३ २०७८

  • 1.1K
    SHARES

  • देउवा सरकारको १०० दिने उपलब्धि सार्वजनिक, खोप कूटनीतिमा सफल भएको दाबी

    काठमाडौँ : प्रधानमन्त्री शेरबहादुर देउवाको ‘अनौपचारिक’ सचिवालयले सरकारका १०० दिनको समीक्षा गर्दै २४ बुँदे उपलब्धि सार्वजनिक गरेको छ । प्रधानमन्त्री देउवाले अहिलेसम्म सचिवायल गठन नगरेका कारण सचिवालयले अनौपचारिक रूपमै काम गर्दै आएको छ ।

    सचिवालयले २४ बुँदामा तयार पारेको समीक्षामा सन्तुलित कूटनीतिमा उपलब्धि हासिल गर्नुलाई पहिलो नम्बरमा उल्लेख गरिएको छ । खोप कूटनीतिमा सफल भएको दाबी गरिएको उपलब्धिमा एक करोड ५० लाख खोप व्यवस्थापन भएको दाबी गरिएको छ । कोरोनाविरुद्ध ३२.६ प्रतिशतले पूर्ण खोप लगाएको पनि उल्लेख छ ।

    सरकारका उपलब्धिमा लगानीमैत्री वातावरण सिर्जना भएको भन्दै निजी क्षेत्रलाई प्रोत्साहन गर्दै आर्थिक स्थिरतातर्फ मुलुक अघि बढेको दाबी गरिएको छ । कोभिड प्रभावित उद्योगी–व्यवसायीका लागि राहत प्याकज ल्याएको भन्दै राजस्व संकलनमा पनि महत्वपूर्ण उपलब्धि हासिल भएको दाबी गरिएको छ ।

    स्टार्टअप व्यवसायलाई प्रोत्साहन गर्ने कार्यविधि तथा कोष तयार, विद्युतीय लाइन विस्तार तथा विद्युत्को पहुँचमा वृद्धि गरिएको भन्दै सार्वजनिक उपलब्धिमा सडक तथा यातायातको पहुँचमा पनि विस्तार भएको बताइएको छ ।

    सामाजिक सुरक्षातर्फ देशभरका असहाय तथा गरिबहरूलाई निःशुल्क कानुनी सहायता प्रदान गर्ने गरी कानुनी व्यवस्था गर्न काुननको मस्यौदा तयार पारिएको दाबी गरिएको छ भने सबै स्थानीय तहलाई इन्टरनेट सञ्जालमा जोडिएको पनि उपलब्धि दाबी गरिएको छ । विद्युतीय माध्यमबाटै कर विवरण हेर्न तथा भुक्तानी गर्न मिल्ने व्यवस्था मिलाइएको दाबी गर्दै सरकारी कागजातहरूको डिजिटल अर्काइभिङ पनि सुरु गरिसकेको उल्लेख छ ।

    दुर्गम क्षेत्रमा गुणस्तरीय शिक्षाका लागि डिस्टन्स लर्निङको प्रक्रिया सुरु गरिएको भन्दै प्राकृतिक विपत्तिमा तत्काल रेस्पोन्स गरिएको उल्लेख छ । क्यान्सर, मिर्गौला र स्पाइनल इन्जुरीका बिरामीलाई मासिक पाँच हजार रुपैयाँ भत्ता दिने निर्णय गरेर सरकारले उपलब्धिपूर्ण काम गरेको दाबी गरिएको छ भने अति विपन्न गरिब घर–परिवारलाई प्रतिघर–परिवार १० हजार रुपैयाँका दरले राहत दिने घोषणा गरिएको पनि उल्लेख छ ।

    युवा–विद्यार्थीलक्षित ‘पढ्दै कमाउदै’ कार्यक्रम र नारी समुदायलक्षित ‘महिला पहिला’ कार्यक्रम घोषणा गरिएको उपलब्धिमा साफ च्याम्पियनसिपमा उपविजेता बन्न सफल राष्ट्रिय फुटबल टिमका खेलाडीलाई प्रोत्साहनस्वरूप जनही पाँच लाख रुपैयाँ दिने बताइएको छ ।


    बुधवार, कार्तिक ३ २०७८०२:३१:४८
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij