काठमाडौँ । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले बाढीपहिरो पीडितलाई राहत र क्षतिपूर्ति दिलाउन सरकारको ध्यानाकर्षण गराउनुभएको छ । प्रचण्डले आज विज्ञप्ति जारी गर्दै बाढीपहिरोमा फासेकाहरुको उद्धार र राहत, घाइतेहरुको निःशुल्क स्वास्थ्योपचार, बिचल्लीमा परेका नागरिकहरुको खानपान र बसोबासको व्यवस्था मिलाउन सरकारसँग विशेष आग्रह गर्नुभएको छ ।
उहाँले बाढी र पहिरोबाट सबैभन्दा बढी मारमा परेका किसानहरुलाई कृषि सहायता कोष खडा गरी राहत र क्षतिपुर्ति दिलाउन पनि माग गर्नुभएको छ । अध्यक्ष दाहालले विपद्मा परी ज्यान गुमाएकाहरुप्रति श्रद्धाञ्जली व्यक्त गर्दै बेपत्ता रहेकाहरुको खोजीका लागि पार्टीका नेता कार्यकर्ता निर्देशन समेत दिनुभएको छ ।