काठमाडौँ । सरकार र आमरण अनसनरत रुबी खानबीच सहमति भएको छ । सहमतिसँगै खानले आफ्नो अनसन स्थगित गर्ने भएकी छन् । गृहमन्त्रालयका सहसचिव हिरालाल रेग्मीको नेतृत्वमा ६ सदस्यीय छानविन समिति गठन गर्ने सहमित भएसँगै अनसन स्थगित गर्न सहमत भएको हो ।
७ दिनभित्र प्रतिवेदन बुझाउने गरी बनेको छानविन समितिमा आन्दोलनकारीको तर्फबाट मुस्लिम समाज चेतना केन्द्रका अध्यक्ष मोहमद शेर बागवान पनि छन् । अनसनरत रुबीले बाँकेका एसपी श्यामकृष्ण अधिकारी लगायतलाई तत्काल सरुवा गर्नुपर्ने माग राखेकी थिइन् । गृहमन्त्रालयका अधिकारीहरुले भने दाषी देखिएकालाई कारबाही गर्ने र खानको मागप्रति सकारात्मक रहेको बताएका छन् ।
सहमतिबारे अहिले केहीबेरमा माइतीघर मण्डलामा पत्रकार सम्मेलनमार्फत जानकारी दिइने मानवअधिकारकर्मी मोहना अन्सारीले जानकारी दिइन् । नेपालगञ्जको दुई हिंसाको घटनामा प्रहरीको अनुसन्धानमा असन्तुष्टि जनाउँदै नेपालगञ्जका ११ महिलासहित १४ जना २० दिन हिँडेर न्यायको खोजीमा काठमाडौं आएको थियो । काठमाडौं आए लगत्तै प्रहरीले धरपकड गरेपछि रुवीले आमरण अनसन थालेकी थिइन् ।