काठमाडौँ । प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले वर्तमान सरकार सट्टापट्टाबाट बनेको टिप्पणी गरेका छन् । हालै भएको मन्त्रिपरिषद् विस्तारमा प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराका जेठानलाई मन्त्री बनाएकोतर्फ संकेत गर्दै उनले शेरबहादुर देउवा नेतृत्वको सरकार कसरी बनेको रहेछ भन्ने बल्ल थाहा भएको बताए ।
बिहीबार गृहजिल्ला झापा पुगेर आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै ओलीले पैसाको कारोबार नहुँदा वार्टर सिस्टममा काम हुने गरेको बताए । ‘यो सरकार पनि कसरी बनेको रहेछ अहिले थाहा भयो’, उनले भने, ‘पैसाको कारबाही भयो कि भएन थाहा भएन । सट्टापट्टा भएको स्पष्टै देखियो । अरु केके भएको थियो, पछि देखिएला ।’