काठमाडौँ । सभामुख अग्निप्रसाद सापकोटाले संसद सन्चालनको सम्बन्धमा प्रमुख प्रतिपक्षी नेकपा एमालेसँग छलफल गर्न तयार रहेको बताउनुभएको छ । आफ्नो भूमिकाबारे समीक्षा गर्न आफू तयार रहेको बताउँदै उहाँले एमालेले पनि समीक्षा गर्दै सम्वादमा आउने र आगामी कात्तिक ९ गते बस्ने प्रतिनिधिसभाको बैठक सहज रुपमा सन्चालन हुने विश्वास व्यक्त गर्नुभयो ।
जतिसुकै ठूलो समस्या भएपनि संवादको विकल्प नभएको सभामुख सापकोटाको भनाइ थियो । नेकपा एमालेलाई फुटाउन भूमिका खेलेको आरोप लगाउँदै एमालेले निरन्तर संसदमा विरोध जनाउँदै आएको छ । संसद सन्चालनको विषयमा सुरुमा सभामुखले र त्यसपछि प्रधानमन्त्रीले आह्वान गरेको सर्वदलीय बैठकसमेत एमालेले बहिस्कार गरेको थियो ।
सभामुख सापकोटाले संसदमा सभामुखले प्रभावकारी भूमिका नखेलेको भन्ने आरोपको प्रतिवादसमेत गर्नुभयो । राष्ट्रका संवेदनशील विषयहरु अगाडि बढाउन आफूले सहजीकरण गरेको उहाँले प्रष्टीकरण दिनुभयो । सभामुख सापकोटाले संसदको गरिमा बढाउन सरकार, गठबन्धन दल र सबै सांसदहरुले भूमिका निर्वाह गर्नुपर्ने बताउनुभयो ।