काठमाडौं । सत्तारुढ गठबन्धनको नेतृत्व गरेको नेपाली कांग्रेसले भारतसँग सम्बन्ध विस्तार गर्न भन्दै आफ्नो प्रतिनिधिमण्डल दिल्ली पठाएको बेला गठबन्धनकै एउटा घटक माओवादी र प्रमुख विपक्षी दल एमालेलाई मिल्न चीनले सुझाव दिएको छ ।
नेपालका दुई ठूला कम्युनिस्ट शक्तिहरु मिलेर नेपाली जनताको आकांक्षा पुरा गरेको हेर्ने आफ्नो चाहना रहेको समेत चीनले बताएको छ ।
नेपाल डायलग फोरमले आज भर्चुअल माध्यममा आयोजना गरेको कार्यक्रममा बोल्दै चिनियाँ राजदूत होउ यान्छीले एमाले र माओवादीलाई मिलेर अघि बढ्न सुझाव दिनुभएको हो ।
एमाले अध्यक्ष केपी शर्मा ओली र माओवादी अध्यक्ष पुष्पकमल दाहाल दुबै जनाको नामै लिएर राजदूत यान्छीले नेपाली जनताको आकांक्षा पुरा गर्न मिल्न जरुरी रहेको बताउनुभयो ।
प्रधानमन्त्री रहँदा पार्टीभित्रको विवाद बढ्दै गएपछि केपी शर्मा ओलीले प्रतनिधिसभा नै भंग गरेपछि राजनीतिकि रुपमा विभाजित तत्कालिन नेकपालाई पछि सर्वोच्च अदालतले औपचारिक रुपमै पूर्ववत अवस्थामा फर्काइदिएको थियो ।
सत्तारुढ गठबन्धनको एउटा घटक माओवादी केन्द्रले आफू सँधै कम्युनिष्ट एकताको पक्षमा रहेको र एमाले राष्ट्रिय स्वाधिनताको पक्षमा उभिए एकता सम्भव रहेको बताएको छ । माओवादी केन्द्र प्रमुख सचेतक देव गुरुङले गएका दिनमा पनि एमाले गलत दिशातिर अघि बढेपछि एकता टुटेको बताउनुभयो ।
पछिल्लो सयम एमाले नेतृत्वले अमेरिकासँग सैन्य गठबन्धन गर्ने, एमसीसी पास गर्न दबाब दिने र तत्कालिन सभामुख कृष्णबहादुर महरा तथा वर्तमान सभामुख अग्नि सापकोटमाथि आक्रमण गर्ने र संसद नै भंग गर्ने जस्ता असंवैधानिक कदम चालेपछि एकता भाँडिएको नेता गुरुङले आरोप लगाउनुभयो । यद्यपि, एमाले राष्ट्रिय स्वधिनताको पक्षमा उभिन तयार भए माओवादी केन्द्र सँधै एकताकै पक्षमा रहेको बताउनुभयो ।
नेकपा एमालेले भने माओवादी केन्द्रसँग तत्कालका लागि एकताको सम्भाना नरहेको संकेत गरेको छ । एमाले संसदीय दलका उपनेता सुवास नेम्वाङले एकताको सुझाव दिएकोमा चीतलाई धन्यवाद दिँदै आफूहरुले अब यसबारे विस्तारै सोच्दै जाने बताउनुभयो ।
माओवादी केन्द्रसँग मिल्न चीनले दिएको सुुझावबारे नेपाली रेडियो नेटवर्कलाई प्रतिक्रिया दिँदै उहाँले भन्नुभयो, ‘हाम्रा छिमेकी मुलुकको सुझावप्रति धन्यवाद । यसबारे हामी आफै निर्णय गर्छौँ । अहिलेका लागि धन्यवा मात्रै भनौं ।’
चीनले नेपालका कम्युनिष्टहरुको एकता चाहनुको पछाडी आफ्नै स्वार्थ रहेको राजनीतिक विश्लेषकहरु बताउँछन् । पहिला पनि चीनले नै एमाले र माओवादी केन्द्रको एकता गराएको दाबी गर्दै उहाँले फेरि मिल मन्नु स्वाभाविक नै भएको बताउनुभयो । साथै छिमेकी मुलुकमा अन्य शक्तिको प्रभाव पर्न नदिन चीनले कम्युनिष्ट एकता चाहेको विश्लेषक बरालले बताउनुभयो ।
तत्कालिन नेकपालाई विभाजन हुन नदिन पनि बेइजिङले सतहमै देखिने गरि आफ्नो सक्रियता देखाएको थियो ।चिनियाँ राजदूत यान्छीले एमाले र माआवादीलाई मिलेर अघि बढ्न सुझाव दिइरहँदा उहाँले हालै गठित माधवकुमार नेपाल नेतृत्वको नेकपा (एकीकृत समाजवादी)को नाम भने लिनुभएन । उत्तर छिमेकी चीनले एमाले र माओवादीलाई मिल्न सुझाव दिनु तर एकीकृत समाजवादीबारे मौन रहनुलाई कूटनीतिमा अर्थपूर्णरुपमा लिइएको छ ।