Jul 26 2026 | २०८३, श्रावण १० गते

२०८३, श्रावण १० गते
  • यो साता चर्चामा :
images

कोरोना संक्रमणबारे सरकार र नागरिकबीच आरोप प्रत्यारोप, अवस्था भयावह!

कोरोना संक्रमणबारे सरकार र नागरिकबीच आरोप प्रत्यारोप, अवस्था भयावह!

  • शुक्रवार, श्रावण १६ २०७७

  • 982
    SHARES

  • कोरोना संक्रमणबारे सरकार र नागरिकबीच आरोप प्रत्यारोप, अवस्था भयावह!


    काठमाडौँ – नेपालमा कोरोना भाइरस संक्रमणले महामारीको रुप लिन थालेपछि सरकारले नागरिकलाई र नागरिकले सरकारलाई आरोप प्रत्यारोप लगाउन सुरु भएको छ । लकडाउन खुलेसँगै नेपालमा कोरोना भाइरसको संक्रमण बढेको छ भने कोरोना संक्रमितहरुको मृत्यु हुने क्रम पनि बढेको छ ।

    पछिल्लो दुई दिनमा मात्रै नेपालमा चार जना कोरोना संक्रमितको मृत्यु भएको छ । तीनजनाको हिजो मृत्यु भएको हो भने एक जनाले आज ज्यान गुमाएका छन् । यसरी संक्रमितको संख्या र मृत्यु हुनेहरुको संखया समेत बढ्न थालेपछि सरकारले नागरिकलाई जोखिम न्यूनिकरणका उपाय अबलम्बन नगरेको आरोप लगाएको छ ।

    आजको नियमित प्रेस ब्रिफिङका क्रममा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्र गौतमले कोरोनाबाट बच्न अपनाउनुपर्ने उपायहरुबारे हरेक दिन भनिरहे पनि नागरिक तहबाट त्यसको पालना नभएको आरोप लगाउनुभयो । उहाँले नागरिकको यस्तै चाला रहे मुलुक कोरोना महामारीका कारण ठूलो दुर्घटनामा जान सक्नेतर्फ चेतावनी दिनुभयो ।

    अहिले समूहमा बस्नेहरुमा कोरोनाको संक्रमणको दर धेरै पाइएको सरकारले बताएको छ । स्वास्थ्यकर्मी, प्रहरी लगायत समूहमा बस्नेहरुमा कोभिड १९को संक्रमण धेरै पाइएको बताउँदै स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. देबकोटाले जनस्वास्थ्यका मापदण्ड नअपनाएमा गम्भीर अवस्थामा रहेका संक्रमितहरुले पनि आइसियु कक्ष लगायत अस्पतालमा बेड नपाउने समस्या सृजना हुन सक्नेतर्फ सचेत रहन आग्रह गर्नुभयो ।

    नेपालमा अहिले तराईँका केही जिल्लाहरुसहित काठमाडौँ उपत्यकामा कोरोना संक्रमितका बिरामी धेरै भेटिन थालेका छन् । नेपालसँग जोडिएका छिमेकी राष्ट्र भारतका चार राज्यमा कोरोना संक्रमणले आक्रामक रुप लिएकोले त्यसको खतरा यहाँ पर्न सक्नेतर्फ सचेत रहन सरकारले आग्रह गरेको छ । प्रवक्ता डा. गौतमले छिमेकमा बढिरहेको संक्रमणका कारण पनि नेपालमा उच्च सतर्कता अपनाउन जरुरी रहेको बताउनुभयो ।

    स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनस्वास्थ्य मापदण्डको पालना नभएका कारण संक्रमण बढेको दाबी गरेपछि नागरिक समाजका अगुवाहरु भने सरकारप्रति आक्रोश पोखेका छन् । परीक्षणको दायरा घटाउँदै संक्रमण कम देखिएको दाबी गरेर जनतामा भ्रम छर्ने स्वास्थ्य मन्त्रालयले उल्टै नागरिकलाई आरोप लगाउनु बाञ्चनिय नहुने नागरिक समाजका अगुवा डा. सुन्दरमणि दिक्षीतले बताउनुभयो ।

    उहाँले सरकारको अकर्मण्यताका कारण मुलुकमा कोरोना भाइरस संक्रमणले भयंकर खतरा निम्त्याएको दाबी गर्नुभयो । क्वारेन्टिनमा बस्ने लगायतका उचित प्रबन्ध मिलाउन नसक्दा काठमाडौँ उपत्यकामा झनै ठूलो खतरा उत्पन्न भएको उहाँले बताउनुभयो ।

    यसैबीच जनस्वास्थ्य विज्ञहरुले कोरोना संक्रमितको संख्या अस्वभाविक रुपमा बढ्न थालेपछि मुलुकमा फेरि लकडाउन जारी गर्नुपर्ने आवश्यकता रहेको तर्फ संकेत गरेका छन् । स्वास्थ्य मन्त्रालय अन्तर्गतको रोग नियन्त्रण महाशाखाका प्रमुख डा. बाशुदेव पाण्डेयले लकडाउनपछि कोरोना संक्रमणको जोखिम उच्च हुँदै गएकोले फेरि पनि बन्दाबन्दीको आवश्यकता रहेको तर्फ संकेत गर्नुभयो ।

    जनस्वास्थ्यविदहरुले नेपालमा कोरोना संक्रमण फैलिन नदिन परीक्षणको दायरालाई व्यापक रुपमा बढाउनुपर्ने आवाज सुरु देखि नै उठाउँदै आएका थिए । तर सरकारले परीक्षणको दायरा घटाउँदै कोरोना संक्रमणको दर पनि घट्दै गएको भ्रमपूर्ण तथ्याङ्क लगातार जनतालाई सुनाएर लकडाउनको अन्त्य भएको घोषणा ग¥यो ।

    लकडाउन अन्त्यपछि पनि कोरोना संक्रमणको दर नबढेको तथ्याङ स्वास्थ्य मन्त्रालयले दैनिक सुनाइरह्यो । तर लकडाउन अन्त्य भइसकेपछि अहिले जब कोरोनाले आक्रामक रुप लिन थाल्यो तब स्वास्थ्य मन्त्रालयले नागरिकले जनस्वास्थ्यको मापदण्डको पालना नगरेका कारण संक्रमण बढेको दाबी गर्न थालेको छ ।

     


    शुक्रवार, श्रावण १६ २०७७०७:४१:२९
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij