काठमाडौँ । गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले मन्त्रिपरिषद् विस्तार गर्नुभएको छ । उहाँले सरकारमा डोबाटे विश्वकर्मा मन्त्री नियुक्त गर्नुभएको छ । कांग्रेस सांसद विश्वकर्मालाई बिना विभागीय मन्त्री नियुक्त गरिएको र आजै शपथ हुने जनाइएको छ ।
डोबाटेको नियुक्तसँगै गण्डकी प्रदेश सरकारमा मुख्यमन्त्रीसहित १२ सदस्यीय मन्त्रपरिषद् भएको छ । गत साउनमा मन्त्रिपरिषद् विस्तार गर्दा मुख्यमन्त्री पोखरेलले शपथका लागि तयारी गरिरहनुभएा विश्वकर्मालाई मन्त्री नबनाएर उहाँको स्थानमा बिन्दु कुमार थापालाई मन्त्री बनाउनुभएको थियो । जसको चर्को आलोचना भएको थियो ।
त्यतिबेला गण्डकी प्रदेश सरकारमा कांग्रेसबाट ३ जना मन्त्री थपिएका थिए । तीनै जना सभापति तथा प्रधानमन्त्री शेरबहादुर देउवानिकट हुन् । वरिष्ठ नेता रामचन्द्र पौडेल पक्षका सांसद विश्वकर्माको नाम अन्तिम समयमा काटिएको थियो ।