काठमाडौँ । बुटवल उपमहानगरपालिका–१७ मोतिपुरस्थित मोतीपुर औद्योगिक क्षेत्रमा भएको झडपमा चार स्थानीयको मृत्यु भएको छ । घटनामा अन्य ३३ प्रहरीसहित ४९ जना घाइते भएका छन् । आइतबार बिहान निर्माणाधीन मोतिपुर औद्योगिक क्षेत्रमा सुरक्षाकर्मी र वस्तीका स्थानीयबीच झडप भएको हो ।
उक्त झडपमा सुरक्षाकर्मीले गोली चलाउँदा कपिलवस्तुस्थित वाणगंगा नगरपालिका–१० बस्ने २० वर्षीय रमेश परियार र हाल नाम, थर, वतन नखुलेका अन्य ३ गरी ४ जनालाई उपचारको लागि ल्याउँदै गर्दा बाटोमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय रुपन्देहीले जनाएको छ ।
यस्तै, झडपमा नेपाल प्रहरीतर्फ ३३ सुरक्षाकर्मी घाइते भएका छन् । घाइते हुनेमा प्रहरी नायव उपरीक्षक मदन कुँवर, प्रहरी निरीक्षक चक्रबहादुर डरमपाल, प्रहरी नायव निरीक्षकहरू नवीन चालीसे, भरतराज पन्थी तथा बाबुराम घिमिरे र प्रहरी सहायक निरीक्षक विमला विक, प्रहरी हवल्दार जगन्नाथ डागीलगायत अन्य जवानहरू छन् ।
घाइते प्रहरी कर्मचारीमध्ये २५ जनाको लुम्बिनी प्रादेशिक अस्पताल, ७ जनाको मेडिकल कलेज भैरहवा र १ जनाको चौराह हस्पिटल बुटवलमा उपचार भइरहेको छ । प्रदर्शनकारीतर्फ १६ जना घाइतेमध्ये ४ जनाको अवस्था गम्भीर रहेको बताइएको छ । यस्तै, ४ जनाको अवस्था मध्यम र अन्यको अवस्था सामान्य रहेको छ ।
उनीहरूमध्ये १२ जनाको लुम्बिनी प्रादेशिक अस्पताल र ४ जनाको मेडिकल कलेज भैरहवामा उपचार भइरहेको प्रहरीले जनाएको छ।
गत फागुनमा शिलान्यास गरिएको औद्योगिक क्षेत्रमा अतिक्रमण बढेको भन्दै सरकारले अस्थायी रुपमा सशस्त्र प्रहरीलाई बसाउने निर्णय गरेको थियो । सरकारको निर्णयानुसार सशस्त्र प्रहरीले ठाउँ खाली गराउने क्रममा आइतबार जग्गामा बस्दै आएका सुकुम्बासीहरु रप्रहरीबीच झडप भएको हो ।
मोतिपुर क्षेत्रमा स्थिति थप भयावह हुनसक्ने भएकाले अहिले जिल्ला प्रशासन कार्यालय रुपन्देहीले कर्फ्यू जारी गरेको छ । आइतबार चार बजेदेखि अनिश्चितकालका लागि कर्फ्यू आदेश जारी भएको हो ।