काठमाडौं । नेकपा एमाले संसदीय दलका प्रमुख सचेतक विशाल भट्टराईले एमाले अध्यक्ष केपी शर्मा ओलीसंग प्रधानमन्त्री शेरबहादुर देउवा र सभामुख अग्नि प्रसाद सापकोटाले प्रत्यक्ष सम्वाद गनुपर्ने बताउनुभएको छ ।
नेपाली रेडियो नेटवर्कसँग कुरा गर्दै नेता भट्टराईले प्रधानमन्त्री र सभामुखले एमालेसँग समस्या भएको बेला मात्र छलफल नगरेर किन गठबन्धनको सबै पार्टीसँग मुछ्न खोजिएको हो ? भनेर प्रश्न उठेको बताउनुभयो ।
त्यस्तै उहाँले संसदमा एमालेको पुर्ववत विरोधहरु कायमै रहने पनि बताउनुभयो । आफूहरुले राखेको मागको अझै पनि कतैबाट पहलकदमी नभएको भन्दै उहाँले एमाले जनताले माया गरेको र सत्ताका निकायहरुले अन्याय गरेको पार्टी भएको दावी गर्नुभयो ।
उहाँले जुन सरकारले तिन महिनामा मन्त्री बनाउन सक्दैन त्यसले देश बनाउँछ भनेर आसा र भरोसा विल्कुल नभएको भन्दै सरकार जनताको नजरमा बदनामी भइसकेको दावी गर्नुभयो ।
सभामुखले आफ्नो गल्ती सच्याउन नसकेको र निष्पक्ष हुन नसकेकोले राजिनामा दिनु पर्नेमा उहाँले जोड दिनुभयो । उहाँले सभामुखले पार्टी फुटाउन मतियारको भुमिका खेलेको आरोप समेत लगाउनुभएको छ ।
सभामुखले एमालेले कारवाही गरेका १४ जनाको नाम टाँस्ने र राजिनामा दिने भन्दा विकल्प नभएको भन्दै उहाँले न्याय पाउनको लागि एमाले रत्तिभर नझुक्ने बताउनुभएको छ ।