काठमाडौँ । सत्तारुढ गठबन्धनका शीर्ष नेताको बैठक बालुवाटारमा सुरु भएको छ । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बैठक सुरु भएको हो । यसअघि सत्तारुढ दलले मन्त्रालयको भागबण्डा गरिसकेको छ । जसमा काँग्रेसलाई सात, माओवादी केन्द्रलाई ६ तथा नेकपा एकीकृत समाजवादी र जनता समाजवादीलाई चार–चार मन्त्रालय पाउने गरी छलफल भएको थियो ।
तर त्यसमा नेकपा एकीकृत समाजवादीले असन्तुष्टि जनाएपछि पुन गठबन्धनको बैठक बसेको हो । गठबन्धनमा कुरा मिले आजै मन्त्रिपरिषदलाई पूर्णता दिने प्रधानमन्त्री शेरबहादुर देउवाको तयारी छ । यसअघि आजै बिहान काठमाडौँमा आयोजित एक कार्यक्रममा सत्तासाझेदार दल माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले उस्तै परे आजै मन्त्रिपरिषदले पूर्णता पाउने बताएका थिए ।
बालुवाटारमा जारी बैठकमा प्रधानमन्त्री तथा काँग्रेस सभापति देउवा, प्रचण्ड, नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव नेपाल र जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादव सहभागी छन् ।