काठमाडौं । नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले काँग्रेसको भविष्यको लागि शेर बहादुर देउवालाई विदा गर्नुको विकल्प नभएको बताउनुभएको छ ।
नेपाली रेडियो नेटवर्कको नेपाली बहसमा पत्रकार ऋषी धमलासँगको कुराकानीमा उहाँले लोकतान्त्रीक प्रक्रियाबाटै नेतृत्व परिवर्तन गरिने दावी गर्दै भन्नुभयो, ‘देउवाको विरुद्ध हाम्रो समूह एक भएर जानेमा कुनै विवाद छैन नेतृत्व परिवर्तन हुने निश्चित भएको छ ।’
प्रधानमन्त्री समेत रहनुभएका देउवालाई कुर्सी चाहिने तर काम नगर्ने दिर्घ रोग लागेको भन्दै नेता पौडेलले कुनै योजना बनाउन नसक्ने तर सरकारमा गइरहने प्रवृतिले राष्ट्र र पार्टी दुबैलाई शिथिल बनाएको प्रष्ट पार्नुभयो ।
उहाँले सरकार गठन गर्न देउवा पटक–पटक चुकेको पनि दावी गर्नुभयो । गठबन्धनमा भएका सबै विघ्नबाधाहरु समाधान गरेर छिट्टै सरकारलाई पुर्णता दिनु पर्नेमा जोड दिनुभयो ।
आफूले मन्त्रीपरिषद विस्तारमा कुनै अवरोध नगरेको भन्दै नेता पौडेलले प्रधानमन्त्रीलाई पुरै स्वतन्त्रता दिएको बताउनुभयो ।