काठमाडौँ । प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउतले कुनै पत्र र जानकारीसमेत नदिएर अख्तियारले छापा मार्नु संस्थामाथिको आक्रमण भएको टिप्पणी गरेका छन् । आज प्रदेश सभाको बैठकमा बोल्दै मुख्यमन्त्री राउतले ‘बेटी बचाऊ बेटी पढाऊ’ अभियानमा अनुसन्धान थालेर प्रदेश सरकारलाई बदनाम गर्न खोजिएको आरोप समेत लगाउनुभयो ।
उहाँले आफ्नो सम्बोधनको अधिकांश समय यसैका स्पष्टिकरणमा खर्चिनुभयो । ‘नीति तथा कार्यक्रममा आएको होइन र बेटी बचाऊ बेटी पढाऊ भन्ने कार्यक्रम। तपाईं माननीयहरुलाई पनि जानकारी छ नि,’ उहाँले भन्नुभयो, ‘अहिले प्रदेश सरकारलाई बदनाम गराउन अनेक प्रयत्न गरिएको छ।’
अनियमितता गरेको भनेर सरकारलाई बदनाम गराउने काम भएको उहाँको भनाइ छ । अख्तियारको छापा मार्ने काम संस्थामाथिको आक्रमण भएको भन्दै राउतले आफूले यस विषयमा अख्तियार प्रमुखसँग पनि कुराकानी गरेको जानकारी दिनुभयो ।