काठमाडौं – सत्तारुढ गठबन्धनमा मन्त्रालय भागबण्डाको सहमति जुटेको छ । आज बसेको गठबन्धनको बैठकले मन्त्रालयको भागबण्डा टुंगो लगाएको हो ।
अब दुई दिनभित्र मन्त्रिपरिषदलाई पूर्णता दिने तयारी भइरहेको छ । गठबन्धनमा भएको सहमति अनुसार सत्ता साझेदार नेकपा एकीकृत समाजवादीले रक्षासहित पाँच मन्त्रालय पाउने भएको छ ।
आफ्नो दलले रक्षा, शहरी विकास, युवा तथा खेलकुद, संस्कृति पर्यटन तथा नागरिक उड्ड्यन र उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालय पाउने सहमति जुटेको एकीकृत समाजवादीका नेता मेटमणि चौधरीले जानकारी दिनुभयो ।
मन्त्रालय भागबण्डा टुंगिएपछि अब स्थायी कमिटी बैठकले नाम टुंग्याउने र पर्सी शपथ हुने उहाँले बताउनुभयो ।
एकीकृत समाजवादीबाट विरोध खतिवडाको नेतृत्वमा प्रेम आले, रामकुमारी झाँक्री, जीवनराम श्रेष्ठ, मेटमणि चौधरी र भवानी खापुङ मन्त्री बन्ने सम्भावना छ ।
यता जनता समाजवादी पार्टी नेपाल (जसपा)ले पाँचवटा मन्त्रालय पाएको छ । भौतिक पूर्वाधार तथा यातायात, शिक्षा, विज्ञान तथा प्रविधि, संघीय मामिला तथा सामान्य प्रशासन, वन तथा वातावरण र श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय जसपाको भागमा परेको बताइएको छ ।
यसअघि दुई मन्त्रालय पाइसकेको माओवादी केन्द्रले थप तीन मन्त्रालय पाउने भएको छ । माओवादी केन्द्रले भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण, खानेपानी, कृषि तथा पशुपन्छी गरी थप तीन मन्त्रालय पाउने भएको हो । माओवादीले अर्थ र ऊर्जा मन्त्रालयमा मन्त्री पठाइसकेको छ ।
सरकारको नेतृत्व गरेको नेपाली कांग्रेसले अब सञ्चार, महिला बालबालिका तथा जेष्ठ नागरिक र स्वास्थ्य तथा जनसंख्या मन्त्रालय लिने भएको छ । कांग्रेसले यसअघि गृह, परराष्ट्र, कानुन मन्त्रालय र स्वास्थ्य राज्यमन्त्री पनि लिइसकेको छ ।
बालुवाटार स्रोतका अनुसार बुधबारसम्म मन्त्रिपरिषदलाई पूर्णता दिने गरी तयारी गरिएको छ । घटस्थापनाका दिन शपथ खाने तयारी भएको हो ।
गत असार २९ मा कांग्रेस सभापति शेरबहादुर देउवा प्रधानमन्त्री हुनुभएको थियो । तर तीन महिना बित्नै लाग्दा समेत मन्त्रिपषिदले पूर्णता नपाएपछि सरकारको चर्काे आलोचना भएको थियो ।
मन्त्रिपरिषदलाई नै पूर्णता दिन सकस भोगेको सरकारले विकास निर्माणको काममा सिन्को पनि भाँच्न नसक्ने प्रमुख विपक्षी एमाले अध्यक्ष ओलीको दाबी छ ।
उहाँले सक्ने भए सरकारले आगामी वैशाखभित्र मेलम्चीको पानी काठमाडौँमा झार्न चुनौती दिनुभयो । काम नगरी टुनामुनाले पानी नआउने उहाँले बताउनुभयो ।
यसैबीच सत्तारुढ गठबन्धनले प्रधानन्यायाधीश चोलेन्द्र शमशेर राणाले मन्त्रिमण्डलमा भाग मागेको समाचारमा कुनै सत्यता नभएको स्पष्टोक्ति दिएको छ ।
सरकारका प्रवक्ता समेत रहनुभएका कानुन मन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले प्रधानन्यायाधीश राणाले भाग मागेको भन्ने समाचार गलत भएको बताउनुभएको हो ।
आज बिहान सत्तारुढ गठबन्धनका नेताहरूको बैठकपछि मन्त्री कार्कीले प्रधानन्यायाधीशको भाग भन्ने किसिमले आएका समाचारमा कुनै सत्यता नभएको बताउनुभएको हो ।