काठमाडौँ – नेपाल बार एसोसिएसनले प्रधानन्यायाधीशले मन्त्रिपरिषदमा भाग खोजेको समाचार सत्य हो भने त्यसलाई रोक्न सबै पक्षलाई आग्रह गरेको छ।
बारका महासचिव लिलामणि पौडेलले सोमबार विज्ञप्ति जारी गर्दै त्यस्ता क्रियाकलाप नरोके बारले कडा आन्दोलन गर्ने चेतावनी दिनुभएको हो ।
बारले समाचारमा आएजस्तो कार्य यदि कहीँ कतैबाट हुन लागेको छ वा भइरहेको छ भने तत्काल त्यसलाई रोकी शक्ति पृथकीकरणको सिद्धान्त, नियन्त्रण र सन्तुलनको सिद्धान्त र संवैधानिक सर्वोच्चता कायम राखी सुशासन कायम गर्न सम्बन्धित सबैमा अनुरोध गरेको छ ।
‘यो विषयलाई सामान्य रूपमा लिई अगाडि बढ्ने प्रयास भएमा नेपाल बार न्यायपालिका र यसको नेतृत्वमात्र होइन सरकारविरूद्ध पनि कडा विरोध र आन्दोलनका कार्यक्रमहरू गर्न बाध्य हुने बेहोरा समेत जानकारी गराउँछौं’, विज्ञप्तिमा भनिएको छ ।
प्रधानन्यायाधीश जबराका कार्यपालिका र अन्य संवैधानिक निकायमा भाग खोज्ने क्रियाकलापले न्यायपालिका गम्भीर संकटमा परेको महसुस भएको पनि बारले जनाएको छ।