काठमाडौँ । साताको दोस्रो कारोबार दिन पनि सेयरबजार सामान्य अंकले घटेको छ । आज पुँजीबजार मापक परिसूचक नेप्से ६.६८ अंकले घटेको छ । हिजो नेप्से ५५.९३ अंकले गिरावट आएको थियो ।
आज ६.६८ अंकले घटेसँगै नेप्से २५७०.८१ विन्दुमा ओर्लिएको छ । कारोबारसमेत थप घटेर साढे तीन अर्बमा खुम्चिएको छ । हिजो चार अर्ब रुपैयाँ बराबरको सेयर कारोबार भएको थियो ।
नेपाल स्टक एक्सचेञ्ज (नेप्से)का अनुसार आज नेप्सेमा तीन अर्ब ६२ करोड ७७ लाख रुपैयाँ बराबरको सेयर कारोबार भएको छ । कूल २२७ वटा कम्पनीका ७६ लाख ५३ हजार २२० कित्ता सेयर जम्मा ४८ हजार २३६ पटक खरिद–बिक्री भएका थिए ।
यसैगरी ठूला कम्पनीहरुको सेयर कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक पनि १.२८ अंकले घटेर ४८४.९८ विन्दुमा ओर्लिएको छ । नेप्से घटे पनि आज होटल तथा पर्यटन, अन्य, माइक्रोफाइनान्स र जीवन बिमा उपसमूहको परिसूचक सकारात्मक बनेको छ । बाँकी उपसमूह भने नकारात्मक बनेको नेप्सेले जनाएको छ ।
आज आशा लघुवित्त वित्तीय संस्थाको कारोबारमा सकारात्मक सर्किट लागेको थियो । मनकामना स्मार्ट लघुवित्त वित्तीय संस्थाका लगानीकर्ताले सबैभन्दा धेरै प्रतिकित्ता ९.३८ प्रतिशतका दरले गुमाएका छन् ।