काठमाडौँ । ललितपुरको गोदावरीमा नेकपा एमालेको विधान महाधिवेशन आज पनि जारी छ । महाधिवेशनको दोस्रो दिन आज बिहान ८ बजेबाट तीन प्रतिवेदनमाथि समूहगत छलफल भयो ।
शुक्रबार सम्पन्न पहिलो दिनको कार्यक्रममा अध्यक्ष केपी ओलीले प्रस्तुत गरेको राजनीतिक प्रतिवेदन, महासचिव ईश्वर पोखरेलले प्रस्तुत गरेको सांगठनिक प्रतिवेदन र उपमहासचिव विष्णु पौडेलले विधान संशोधन प्रस्ताव पेस गरेका थिए ।
ती तीनवटा प्रतिवेदनमाथि आज महाधिवेशन प्रतिनिधिहरुले समूहगत छलफल गरेका हुन् । छलफलका लागि शुक्रबार नै प्रतिनिधिहरूलाई १० समूहमा विभाजन गरी ती समूहलाई सहजीकरण गर्न २० जना नेतालाई जिम्मेवारी दिइएको थियो ।
सबै समूहले छलफल गरी सुझावसहितको निष्कर्ष तयार पारिसकेको जनाइएको छ । अब टोली नेताहरूले सामूहिक छलफलको निष्कर्ष र प्रतिनिधिहरूका सुझाव पेस गर्ने बताइएको छ ।