काठमाडौँ । नेकपा एमाले र नेकपा माओवादी केन्द्रलाई सर्वोच्च अदालतले पूर्ववत स्थितिमा फर्काएसँगै पार्टीलाई २ जेठ २०७५ कै अवस्थामा पुर्याउनुपर्ने एमाले असन्तुष्ट नेताहरुको माग संस्थापन पक्षबाट सम्बोधन नहुने देखिएको छ । ललितपुरको गोदावरीमा आदेखि सुरु भएको पार्टीको पहिलो विधान महाधिवेशनमा एमाले अध्यक्ष केपी शर्मा ओलीले असन्तुष्ट १० नेताहरुको माग पूर्णरुपमा सम्बोधन नहुने संकेत गर्नुभएको हो ।
पार्टीलाई पूरानै अवस्थामा फर्काउने सहमतिसहितको १० बुँदेलाई एकताको सुत्रका रुपमा अघि सारेर एमालेमै रहेका १० नेता अहिले उक्त सम्झौता अक्षरशः कार्यान्वयन हुनुपर्ने भन्दै जोडतोडले लागिपरेका छन् । तर संस्थापन पक्षले भने त्यो अब सम्भव नहुने स्पष्ट संकेत गरेको छ । विधान महाधिवेशनको उद्घाटन सत्रलाई सम्बोधन गर्दै अध्यक्ष ओलीले एमाले पूरानो एमाले नभइ परिवर्तित एमाले भएको बताउनुभयो । उहाँले एमाले नेकपाकै निरन्तरता र त्यसैको विरासत बोकेको नयाँ पार्टी भएको स्पष्ट पार्नुभयो ।
विधान महाविधेशनमा पार्टीको राजनीतिक प्रतिवेदन पेश गर्दागर्दै ओलीको स्वास्थ्यमा समस्या भएपछि उक्त प्रतिवेदनलाई निरन्तरता दिन मञ्चमा उपस्थित हुनुभएका नेता शंकर पोखरेलले पनि ओलीकै भनाइ दोहो¥याउनुभयो ।
यता, नेकपाको विभाजनपछि एमाले रोजेका पूर्वमाओवादी नेताहरु पनि एमालेलाई पूरानै अवस्थामा फर्कोउनुपर्ने असन्तुष्ट नेताहरुको मागप्रति सहमत छैनन् । आफूहरुले हिजोको पूरानो एमालेलाई नभइ नेकपाकै केपी ओली धारलाई रोजेको भन्दै पूर्वमाओवादी नेता प्रभु साहले अहिलेको एमाले नयाँ एमाले हुनुपर्ने बताउनुहुन्छ ।
अध्यक्ष ओलीले आफूहरुलाई पूरानो एमाले हुँदै नहुने र पार्टी नेकपाको निरन्तरता हुने आश्वासन दिएपनि अभ्यास भने पूरानै एमालेको भएको उहाँको आरोप छ । आफूहरुको माग सम्बोधन नभएको भन्दै पूर्व माओवादी नेता साह एमालेको विधान महाधिवेशनमा समेत अनुपस्थित हुनुभयो । असन्तुष्ट १० नेताले एमाले पूरानो अवस्थामा नफर्किएको टिप्पणी गर्दैगर्दा प्रभु साहले भने एमालेमा पुरानै अभ्यास भइरहेको भन्दै यथास्थितिमा आफू एमाले नै नभएको बताउनुहुन्छ ।
पार्टी विभाजनपछि माधव नेपालको साथ छोडेर एमालेमै रहेका नेताहरु भने १० बुँदे कार्यान्वयनमा आफूहरु अझै आशावादी रहेको बताउँछन् । अहिले कतिपय ठाउँमा १० बुँदे कार्यान्वयन भइसकेको र केही ठाउँमा भने जटिलता देखिएको तर कार्यान्वयन हुनेमा भने आफू आशावादी रहेको नेता योगेश भट्टराई बताउनुहुन्छ ।
नेकपा विभाजन पछिको एमालेबाट अहिले माधव नेपाल समूहसमेत छुटिएर गइसकेको छ । तर नेकपा विभाजनका बेला माओवादी त्यागेका र एमाले विभाजनपछि माधव नेपालको साथ छाडेका कोही पनि नेताहरु अहिले अध्यक्ष ओलीसँग सन्तुष्ट देखिएका छैनन् । अहिले एक पक्षको माग सम्बोधन गर्दा अर्को पक्ष भाँडिने भय अध्यक्ष ओलीसामू छ । फलस्वरुप अर्को समूह र पार्टी त्यागेर एमालेमा आएकाहरुसँग भएका सम्झौता अक्षरशः पालनामा ओली बाध्यताले चुक्नुपरेको देखिन्छ ।