Jul 25 2026 | २०८३, श्रावण ९ गते

२०८३, श्रावण ९ गते
  • यो साता चर्चामा :
images

उत्तराधिकारी घोषणा गरेर आफ्नै काल निम्त्याउँने गल्ती गर्दिनँः प्रचण्ड

उत्तराधिकारी घोषणा गरेर आफ्नै काल निम्त्याउँने गल्ती गर्दिनँः प्रचण्ड

  • बिहिवार, आश्विन १४ २०७८

  • 920
    SHARES

  • उत्तराधिकारी घोषणा गरेर आफ्नै काल निम्त्याउँने गल्ती गर्दिनँः प्रचण्ड

    काठमाडौँ - नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले ५ पुसको संसद विघटनसँगै आफूसामु लड्ने कि आत्महत्या गर्ने भन्ने विकल्प देखिएको स्मरण गर्नुभएको छ ।

    यद्यपि आफूले पार्टीका नेताहरुको साथ लिएर क्रान्तिकारी ढंगले लड्ने निर्णय लिएको र त्यसमा विजयी भएको उहाँले बताउनुभयो ।

    अनेरास्ववियु क्रान्तिकारीको राष्ट्रिय सम्मेलनलाई सम्बोधन गर्दै प्रचण्डले भारतीय फिल्म भगत सिंहमा चन्द्रशेखर आजादले एक मुठी माटो लिएर (धर्ती माता)मा यति नै रहेछ गर्न भनेर आत्महत्या गरेको प्रसंग सुनाउनुभयो ।

    आफू पनि झण्डैझण्डै यस्तो अवस्थामा पुगेको भन्दै प्रचण्डले सबै आत्महत्याहरु गलत नहुने पनि सुनाउनुभयो । यसो भन्दैगर्दा प्रचण्डको गला अवरुद्धजस्तै भएको थियो ।

    सम्बोधनका क्रममा प्रचण्डले एमालेका ‘दश भाइ’ले केपी शर्मा ओलीसँग आत्मसमर्पण गरेको टिप्पणी गर्नुभयो ।

    हिजो ओलीलाई कारबाही गर्न हस्ताक्षर गर्नेहरूले नै अहिले ओलीसँग आत्मसमर्पण गरेको उहाँले बताउनुभयो ।

    तिनै नेताहरुले अहिले प्रचण्डले एमाले फुटाएको आरोप लगाउने गरेको भन्दै प्रचण्डले त्यस्ता कुरा सुनेर ताली बजाउनेहरु देखेर आफूलाई अचम्म लाग्ने गरेको बताउनुभयो ।

    प्रचण्डले एमाले नेता गोकुल बाँस्कोटाको नक्कल गर्दै आफूहरूलाई हेप्न नपाइने बताउनुभयो । अब गाउँ–गाउँबाट जाली फटाहालाई वाईसीएल र अखिल क्रान्तिकारीले लखेट्नुपर्ने दोहो¥याउँदै प्रचण्डले जाली फटाहाहरुलाई हेप्न पाइने तर क्रान्तिकारीलाई हेप्न नपाइने बताउनुभयो ।

    आफूले संसदमा आगोसँग नखेल भनेको भाषण सम्झाउँदै प्रचण्डले त्यसपछि केपी ओली बालुवाटारबाट बालकोट पुगेको बताउनुभयो ।

    प्रचण्डले पूर्ण समानुपातिक निर्वाचन प्रणालीको कुरा उठाएर आन्दोलन गर्नुपर्ने बताउनुभयो । यो आन्दोलन हतियार नउठाइ जितिने पनि उहाँले बताउनुभयो ।

    प्रचण्डले अहिलेका चुनाव निकै खर्चिलो भएको भन्दै त्यसका लागि पनि पूर्णसमानुपातिक आवश्यक रहेको बताउनुभयो । उहाँले दलाल पुँजीपतिहरूसँग पैसा मागेर कहिलेसम्म चुनाव लड्ने भन्दै दलालको पैसाले जित्ने चुनाव विकृतिपूर्ण रहेको बताउनुभयो ।

    सम्बोधनका क्रममा प्रचण्डले उत्तराधिकारी घोषणा गर्ने गल्ती आफूले नगर्ने बताउनुभयो । यद्यपि विचार, राजनीति र योजनासहित आए र पार्टीले पास गरे नेतृत्व छाड्न तयार रहेको बताउनुभयो ।

    प्रचण्डले अब किताब लेखेर बस्न पाए आफू सबभन्दा बढी खुसी हुने बताउनुभयो । मञ्चमा बसेका नेताहरुतिर हेर्दै उहाँले तर अहिले त्यस्तो आफूले नपाएको बताउनुभयो ।

    लामो सम्बोधन गर्नुभएका प्रचण्डले अबको चुनावमा जाली फटाहाहरुलाई पाखा लगाएर माओवादीलाई स्थापित गर्नुपर्ने कुरामा जोड दिनुभएको थियो ।

    अहिले गाउँ गाउँमा केपी ओली र कमल थापाहरुको आतंक रहेको भन्दै प्रचण्डले उनीहरुलाई ठेगान लगाउन माओवादी आतंक चाहिएको बताउनुभयो ।

    संसद विघटनविरुद्ध लडेर आफूहरुले मुलुकलाई र माओवादी आन्दोलनलाई क्षतिविक्षत हुनबाट जोगाएको प्रचण्डको भनाई थियो ।

    तर आजै आयोजित एक कार्यक्रममा एमाले नेता रामबहादुर थापा बादलले संसद विघटन सही थियो भन्ने कुरा पार्टीको केन्द्रीय कमिटीबाट पास भैसकेको दाबी गर्नुभयो ।

    पूर्वमाओवादी नेता थापाले जनताको बहुदलीय जनवाद अहिले पनि सान्दर्भिक रहेको चर्चा गर्नुभयो । 

    प्रचण्डले पछिल्ला भाषणहरुमा अब माओवादीले फेरि ६४ सालमा फर्किनुपर्ने बताउन थाल्नुभएको छ ।

    यसअघिको भाषणमा उहाँले ६४ मा गर्नु नगर्नु सबै गरेर पो जितियो फेरि पनि त्यस्तै गर्नुपर्छ भन्नुभएको छ ।

    प्रचण्डका यी भाषणहरुले कतै हिंसालाई प्रवद्र्धन त गरिरहेको छैन भन्ने चिन्ता राजनीतिमा थपिएको छ ।


    बिहिवार, आश्विन १४ २०७८०७:४६:१८
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij