काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले एमसीसीका बारेमा अहिले कुनै निर्णय नगर्ने स्पष्ट पारेको छ । सरकारले एमसीसीलाई अगाडि बढाउने की नबढाउने भन्ने बारेमा निर्णय गरेपछि मात्रै आफुले निर्णय गर्ने एमालेले जनाएको छ ।
एमालेका उपमहासचिव विष्णु प्रसाद पौडेलले सरकारले निर्णय नगरी एमालेले निर्णय गर्नुको औचित्य नहुने भएकाले यस बारेमा निर्णय नगरिएको जानकारी दिनुभयो ।
नेपाली रेडियो नेटवर्कको नेपाली बहसमा पत्रकार ऋषि धमलासँगको कुराकानीका क्रममा उहाँले भन्नुभयो, “सरकारले कुनै निर्णय गरेको छैन, हामीले हतारिएर यसो गर्नुपर्छ वा त्यसो गर्नुपर्छ भनेर हतारिनु पर्नेछैन ।” पूर्व अर्थमन्त्री समेत रहनु भएका पौडेलले मन्त्रालयको जिम्मेबारी सम्हालेका बेलामा भने एमसीसीलाई अगाडि बढाउनु पर्ने पक्षमा लाग्नु भएको थियो ।
त्यसैगरी प्रधानमन्त्री भएका बेलामा एमाले अध्यक्ष केपी शर्मा ओलीले पनि एमसीसीलाई जतिसक्दो चाडो पारित गर्नुपर्नेमा जोड दिनुभएको थियो ।
तर अहिले भने एमालेका नेताहरुले एमसीसीका बारेमा पर्ख र हेरको रणनीति लिएका छन् । धेरै नागरिकले एमसीसीको विरोध गरेकाले एमालेले अहिले एमसीसीका बारेमा विरोध पनि नगर्ने र समर्थन पनि नगर्ने रणनीति लिएको हो ।