काठमाडौँ – सरकारले राजनीतिक दलसम्बन्धी अध्यादेश खारेजीका लागि राष्ट्रपतिसमक्ष सिफारिस गरेको छ ।
आज साँझ बसेको मन्त्रिपरिषद्को बैठकले अध्यादेश फिर्ता लिने निर्णय गरेको बालुवाटार श्रोतले बतायो । अब मन्त्रालय भागवण्डा टुंग्याएर पर्सिसम्म मन्त्रिपरिषद् विस्तार गर्ने तयारी सत्तारुढ दलहरुको तयारी छ ।
संविधानको धारा ११४ अनुसार सरकारले संसद अविधेशन नचलेको बेला अध्यादेश जारी गर्न र जुनसुकै बेला फिर्ता लिन सक्छ ।
यसैबीच नेपाल कम्युनिष्ट पार्टी एकीकृत समाजवादीले सरकारमा पार्टीबाट प्रतिनिधित्व गर्ने मन्त्रीहरुको नाम टुंगो लगाएको छ । अध्यादेश फिर्ता लिएर सरकार विस्तारको तयारी भइरहँदा पार्टीले मन्त्री हुनेहरुको नाम टुंगो लगाएको हो ।
स्रोतका अनुसार अध्यक्ष माधवकुमार नेपालले प्रधानमन्त्री शेरबहादुर देउवालाई आफ्नो पार्टीका तर्फबाट सूची बुझाइसक्नुभएको छ । सो सूचीमा विरोध खतिवडा, मेटमणि चौधरी, रामकुमारी झाँक्री, प्रेम आले र जीवनराम श्रेष्ठ गरी पाँच जनाको नाम उल्लेख छ ।
नेकपा एसले ६ मन्त्रालय पाउने सहमति सत्तारुढ गठबन्धनमा भएकोमा भवानी खापुङ र किसान श्रेष्ठ मध्ये एकजनाको नाम थपिने श्रोतले बतायो । नेता मेटमणि चौधरीले आधिकारिक जानकारी आफूहरुलाई नदिइए पनि बाहिर सार्वजनिक भएको नामहरुको वरिपरिमै रहेर पार्टीले सरकारमा प्रतिनिधित्व गर्ने जानकारी दिनुभयो ।
विरोध खतिवडाको नेतृत्वमा एकीकृत समाजवादी सरकारमा जाने टुंगिए पनि पाउने मन्त्रालयको भागबण्डा भने अझै टुंगिन सकेको छैन । नेता खतिवडाले आफूहरु तत्कालै सरकारमा जाने तयारी भएको बताउनुभयो । तर मन्त्रालयको भागबण्डा भने टुंगिन बाँकी रहेको उहाँले बताउनुभयो ।
एकीकृत समाजवादीले मन्त्रीहरुको नाम लगभग टुंगो लगाए पनि अन्य सत्तारुढ दलहरुले भने अझै टुंगो लगाएका छैनन । सरकारको नेतृत्व गरेको कांग्रेस, माओवादी र जसपाले मन्त्रीको नाम टुंगो लगाउन नसकेका हुन् ।
माओवादी केन्द्रको आज बसेको स्थायी कमिटी बैठकले कानुनी जटिलता हटाएर छिट्टै सरकारलाई पूर्णता दिन पहल गर्ने निर्णय गरेकोसचेतक देव गुरुङले जानकारी दिनुभयो ।
आजको मन्त्रिपरिषद् बैठकले राजनीतिक दलसम्बन्धी अध्यादेश फिर्ता लिएर भोलिसम्म सरकार विस्तार गर्ने तयारी थियो ।
तर आज बसेको मन्त्रिपरिषदका निर्णयहरु जानकारी दिन आयोजित पत्रकार सम्मेलनमा सरकारका प्रवक्ता ज्ञानेन्द्रबहादुर कार्कीले यसबारे कुनै शब्द उच्चारण गर्नुभएन ।