निलम्बित सहसचिव चुडामणि शर्मा ५० लाख धरौटी बुझाएर विशेष अदालतबाट रिहा हुनुभएको छ । कर फछ्र्यौट आयोगको सदस्य सचिव हुँदा व्यवसायीलाई गैरकानुनी रुपमा लाभ पुग्ने कर छुट दिएको अभियोग लागेका शर्मा सोमबार विशेषले मागेअनुसार ५० लाख धरौटी बुझाएर रिहा हुनुभएको हो ।
विशेष अदालतका न्यायाधीशद्वय अब्दुल अजिज मुसलमान र नित्यानन्द पाण्डेयको इजलासले सोमबार शर्मालाई ५० लाख धरौटीमा छाड्न आदेश दिएको हो ।
‘प्रतिवादी उपर लिइएको आरोपदावी एवं यस अदालतबाट मिति २०७४/८/१५ मा भएको थुनछेक आदेशका साथै प्रतिवादी उपर दायर प्रस्तुत पुरक आरोपपत्रबाट श्रृजना हुन सक्ने थप दायित्व समेतलाई विचार गरी पछि बुझ्दै जादा ठहरे बमोजिम हुने गरी हाललाई विशेष अदालत ऐन २०५९ को दफा ७ को खण्ड (घ) बमोजिम प्रतिवादी चुडामणि शर्मा ढकालबाट रु ५०,००,००० (पचास लाख रुपैयाँ) घरोटी माग गरिएको छ’, विशेष अदालतबाट सोमबार जारी आदेशमा उल्लेख गरिएको छ ।
कर फर्छ्यौटका नाममा राजस्व चुहावट गरी भ्रष्टाचार गरेको अभियोगमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले कर फर्छ्यौट आयोगका पदाधिकारीविरुद्ध एक अर्ब ३३ लाख २० हजारको बिगो, जरिवाना र कैदको माग गरी भ्रष्टाचार मुद्दा दायर गरेको थियो ।
अख्तियारले गएको असार ९ गते कर फर्छ्यौट आयोगका पदाधिकारी उपर भ्रष्टाचार मुद्दा दायर गरेको थियो ।