काठमाडौँ । नेकपा एमालेको स्थायी कमिटी बैठक आज बस्दै छ । पार्टीमा उपाध्यक्ष पद थपेर ७ बनाउन सुझाव आएपछि त्यसबारे बैठकमा थप छलफल हुने भएको छ ।
तीन दिनसम्म चलेको केन्द्रीय कमिटी बैठकमा विधान संशोधनमाथि समूहगत छलफलका क्रममा पार्टी उपाध्यक्ष पद थप्न सुझाव दिइएको थियो । त्यसमा अध्यक्ष केपी शर्मा ओली सकारात्मक रहेको र यसबारे स्थायी कमिटीले टुंगो लगाउने बताइएको छ ।
प्रचार विभाग प्रमुख योगेश भट्टराईले प्रस्तावित तीन उपाध्यक्षको सट्टा ७ बनाउन केन्द्रीय कमिटीमा आएका सुझावलाई स्थायी कमिटीले निष्कर्षमा पुर्याउने बताउनुभयो ।
साथै स्थायी कमिटीमा एमाले विभाजन हुँदा माधव नेपालको साथ छाडेर एमालेमै रहेका नेताहरुको असन्तुष्टिका बारेमा पनि छलफल हुने बताइएको छ । उनीहरुले एकताका मुख्य सुत्रका रुमा लिइएको १० बुँदे सम्झौता इमान्दारितापूर्वक कार्यान्वयन नभएको भन्दै असन्तुष्टि जनाउँदै आएका छन् ।
केन्द्रीय कमिटी बैठकमा तेस्रो धार भनिएका असन्तुष्ट नेताहरु र अध्यक्ष ओलीबीच यसबारे सवालजवाफ नै भएको थियो । त्यसक्रममा ओलीले १० बुँदेबारे स्थायी कमिटीमा छलफल गर्ने बताउनुभएको थियो ।