पाल्पा । पाल्पाको रामपुर नगरपालिकामा भएको काँग्रेसको नगर अधिवेशनले निवर्तमान सभापति नेत्रप्रसाद भट्टराई कै नेतृत्वमा नयाँ कार्यसमिति गठन गरेको छ । सहमतीको प्रयास सफल नभएपछि भएको मतदान प्रक्रियाबाट नयाँ कार्यसमिति गठन गरिएको हो ।
सभापतिमा भट्टराईसंगै अर्जुन प्रसाद रेग्मीले पनि उम्मेद्वारी दिनु भएको थियो । कुल २ सय ८ मत खसेकोमा भट्टराईले १ सय २५ र रेग्मीले ८२ मत प्राप्त गर्नु भएको थियो ।
नगर उपसभापतिमा भने ज्ञानप्रसाद भण्डारी र देव बहादुर थापा मश्राङ्गी निर्वाचित हुनु भएको छ । भण्डारीले १ सय ३० मत र मश्राङ्गीले १ सय ४५ मत प्राप्त गर्नु भएको थियो । उपसभापति पदका अन्य प्रतिस्पर्धी सरस्वती डोटेलले ६९ र हरि प्रसाद न्यौपाने ५२ मत प्राप्त गर्नु भएको थियो ।
सचिव पदका लागि ४ जनाको उम्मेद्वारी रहेकोमा चिरञ्जीवी सिग्देल १ सय ४१ मत र ओमप्रकाश बस्याल १ सय २६ मतका साथ निर्वाचित हुनु भएको छ । अन्य प्रतिस्पर्धी विष्णु प्रसाद बस्यालले ८४ र नरनारायण अर्यालले ४० मत प्राप्त गर्नु भएको थियो ।
सहसचिवमा आवास भट्टराई र राजन सुनार चयन हुनु भएको छ । सहसचिवमा निर्वाचित भट्टराईले ९६, सुनारले ९१ मत प्राप्त गर्नु भएको थियो भने अन्य प्रतिस्पर्धी देव बहादुर दर्जीले ७५, रहिम मुल्ला मियाँले ३७ र पार्वती परियारले ८४ मत प्राप्त गर्नु भएको मतदान अधिकृत मुकुन्दराज गौतमले जानकारी दिनुभयो ।
पदाधिकारीमा निर्वाचन भएपनि कार्यसमिति सदस्य भने सर्वसम्मत चयन गरिएको छ । सदस्यहरुमा खस आर्यबाट काशीनाथ रेग्मी, कृष्ण प्रसाद लम्साल, मोहन भट्टराई, विश्वनाथ कंडेल, आदिबासी जनजातिबाट अञ्जु थापा, तिर्थ बहादुर थापा, थान बहादुर गाहा, मन्जु मानन्धर, यम बहादुर भुजेल, दलित तर्फबाट अम्बिका देवि सुनार, गणेश सुनार, गौतम बहादुर सुनार, अल्पसंख्यकबाट मोहम्मद अजिम शेख चयन हुनु भएको हो ।
त्यसैगरी जिल्ला प्रतिनिधिमा बुद्धि प्रकाश रेग्मी, हिमाल मल्ल र सावित्रा गौतम, अपाङ्गहरुको तर्फबाट क्षेत्रिय प्रतिनिधीमा सीता पंगेनी र युवराज रेग्मी चयन हुनुभएको निर्वाचन समितिले जनाएको छ ।
जिल्लाका दश स्थानीय तहमध्ये सातवटा पालिकामा सर्वसम्मत रूपमा नेतृत्व चयन हुँदा दुई पालिकामा निर्वाचन भएको छ भने एउटाको अधिवेशन स्थगित भएको छ ।
नेपाली कांग्रेस निस्दी गाउँपालिकाको सभापतिमा पूर्ण बहादुर खाँड, पूर्वखोलामा बिष्णु आचार्य, रम्भामा ऋषिराम अर्याल, माथागढीमा दिपक थापा, तिनाउँमा प्रेम पाण्डे, वगनाशकालीमा थानेश्वर तिमिल्सिना र रैनादेवी छहरा गाउँपालिकामा बिष्णु पोखरेल सर्वसम्मत रूपमा चयन हुनुभएको छ ।
रिब्दीकोट गाउँपालिकामा मतदानको माध्यमबाट रामचन्द्र पाण्डे निर्वाचित हुनु भएको छ । उहाँले ९७ मत सहित विजयी बन्दा उहाँका प्रतिस्पर्धी इन्द्र पाण्डेले जम्मा ७ मत प्राप्त गर्नु भएको थियो । विजयी पाण्डै पार्टीका केन्द्रीय बरिष्ठ नेता रामचन्द्र पौडेल निकट मानिनुहुन्छ ।
जिल्ला सदरमुकामको तानसेन नगरपालिकामा भने उद्घाटन सत्र मात्र सम्पन्न गरेर बन्द सत्र सुरू नहुँदै नगर अधिवेशन स्थगित गरिएको छ । दुइ जना आकंक्षीले आफ्नो दाबी नछाड्ने भएपछि सर्वसम्मतिको प्रयास गर्दा गर्दै अधिवेशन हुन नसकेको हो ।
तानसेनमा पाल्पा उद्योग वाणिज्य संघका निवर्तमान अध्यक्ष मोहन श्रेष्ठ र अर्का काँग्रेस नेता सुवर्णमुनी शाक्यका बीचमा कुरा मिल्न नसकेको जनाइएको छ ।
सहमतिको प्रयास सफल हुन नसके एक, दुई दिनमा मतदान मार्फत भएपनि अधिवेशन सम्पन्न गरिने निर्वाचन समितिले जनाएको छ ।