काठमाडौं । नेपाली कांग्रेसको १४औँ महाधिवेशन अन्तर्गत पाल्पाका नौ स्थानीय तहमा कांग्रेस पदाधिकारी चयन भएका छन् ।
जिल्लाका दश स्थानीय तहमध्ये सातवटा पालिकामा सर्वसम्मत रूपमा नेतृत्व चयन हुँदा दुइ पालिकामा निर्वाचन भएको छ भने एउटाको अधिवेशन स्थगित भएको छ ।
नेपाली कांग्रेस निस्दी गाउँपालिकाको सभापतिमा पूर्ण बहादुर खाँड, पूर्वखोलामा बिष्णु आचार्य, रम्भामा ऋषिराम अर्याल, माथागढीमा दिपक थापा, तिनाउँमा प्रेम पाण्डे, वगनाशकालीमा थानेश्वर तिमिल्सिना र रैनादेवी छहरा गाउँपालिकामा बिष्णु पोखरेल सर्वसम्मत रूपमा चयन हुनुभएको छ ।
रिब्दीकोट गाउँपालिकामा मतदानको माध्यमबाट रामचन्द्र पाण्डे निर्वाचित हुनु भएको छ। उहाँले ९७ मत सहित विजयी बन्दा उहाँका प्रतिस्पर्धी इन्द्र पाण्डेले जम्मा ७ मत प्राप्त गर्नु भएको थियो । विजयी पाण्डे पार्टीका केन्द्रीय बरिष्ठ नेता रामचन्द्र पौडेल निकट मानिनुहुन्छ ।
रामपुर नगरपालिकामा मतदान मार्फत नेपाली कांग्रेसको नगर सभापतिमा नेत्र प्रसाद भट्टराइ निर्वाचित हुनुभएको छ। प्रतिस्पर्धी अर्जुन रेग्मीलाइ पछि पार्दै भट्टराइ निर्वाचित हुनु भएकाे हाे । कुल २ सय ८ मत खसेकोमा भट्टराईले १ सय २५ र रेग्मीले ८२ मत प्राप्त गर्नु भएकाे थिपाे ।
जिल्ला सदरमुकामको तानसेन नगरपालिकामा भने उद्घाटन सत्र मात्र सम्पन्न गरेर बन्द सत्र सुरू नहुँदै नगर अधिवेशन स्थगित गरिएको छ । दुइ जना आकंक्षीले आफ्नो दाबी नछाड्ने भएपछि सर्वसम्मतिको प्रयास गर्दा गर्दै अधिवेशन हुन नसकेको हो ।
तानसेनमा पाल्पा उद्योग वाणिज्य संघका निवर्तमान अध्यक्ष मोहन श्रेष्ठ र अर्का काँग्रेस नेता सुवर्णमुनी शाक्यका बीचमा कुरा मिल्न नसकेको जनाइएको छ । सहमतिको प्रयास सफल हुन नसके एक, दुई दिनमा मतदान मार्फत भएपनि अधिवेशन सम्पन्न गरिने निर्वाचन समितिले जनाएको छ ।