Nov 08 2026 | २०८३, कार्तिक २३ गते

२०८३, कार्तिक २३ गते
  • यो साता चर्चामा :
images

आगामी चुनावमा एमाले टर्च बालेर खोज्नुपर्ने हुन्छ : माधव नेपाल

आगामी चुनावमा एमाले टर्च बालेर खोज्नुपर्ने हुन्छ : माधव नेपाल

  • शनिवार, आश्विन ९ २०७८

  • 592
    SHARES

  • आगामी चुनावमा एमाले टर्च बालेर खोज्नुपर्ने हुन्छ : माधव नेपाल

    काठमाडौँ । नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले कार्यकर्ताहरूलाई एमालेका नेताहरूप्रति गालीगलौच नगर्न आग्रह गर्नुभएको छ । हेटौंडामा आयोजित कार्यक्रममा नेपालले एमालेका नेताहरूले जस्तै गाली गरेमा उनीहरू र आफूहरूमा फरक नदेखिने बताउनुभयो ।

    हेटौँडामा आज पार्टीको कार्यक्रमलाई सम्बोधन गर्दै नेपालले भन्नुभयो, ‘हामी फूलको आँखाले संसार हेर्छौं, केपी ओली काँडाको आँखाले संसार हेर्छन् ।’ एमाले आगामी चुनावमा कमजोर बन्ने माधव नेपालको भनाइ थियो ।

    ‘एमाले आगामी चुनावमा टर्च बालेर खोज्नुपर्ने अवस्थामा गइरहेको छ, हेर्दै जानुस्’ उहाँले भन्नुभयो । केपी ओली अहंकारको घोडाबाट खसेपछि गालीगलौचमा लागेका अध्यक्ष नेपालको टिप्पणी छ । ‘उनीहरूको काम नै गाली गर्ने, त्यसैमा रमाउँछन् । हामी त्यस्तो गर्ने छैनौं । सद्बुद्धि आओस्, मति सुध्रियोस्’, उहाँले भन्नुभयो, ‘हामी गलत बाटोमा जान चाहन्नौँ । नत्र त उहाँहरू र हामीमा के फरक ?,

    एकीकृत समाजवादीले युवा र महिलाहरूलाई नेतृत्वमा ल्याउने नेपालको भनाइ थियो । उहाँले नेतृत्व लिनका लागि युवा र महिलाहरूलाई आह्वान गर्नुभयो । २०७१ सालमा नै गलत व्यक्ति र तरिकाले एमाले अगाडि बढिरहेको भन्दा ओलीले त्यस्तो भन्नेलाई शत्रु ठानेको नेपालले बताउनुभयो ।

    नेकपा गठनका क्रममा आफूलाई जानकारी नभएको र पुष्पकमल दाहालसँग गोप्य सहमति गरेर ओली अगाडि बढेको नेपालको भनाइ थियो । दुवै जनाले प्रधानमन्त्री र पार्टी अध्यक्ष आधा–आधा कार्यकाल बाँड्ने सहमति गरेको तर त्यो सहमति ओलीले उल्लंघन गरी कागजमै सीमित राखेको नेपालको भनाइ थियो ।


    शनिवार, आश्विन ९ २०७८०४:५४:५३
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij