Nov 08 2026 | २०८३, कार्तिक २३ गते

२०८३, कार्तिक २३ गते
  • यो साता चर्चामा :
images

हिमाली जिल्लामा दसैँअगावै कांग्रेसको जिल्ला अधिवेशन

हिमाली जिल्लामा दसैँअगावै कांग्रेसको जिल्ला अधिवेशन

  • बिहिवार, आश्विन ७ २०७८

  • 1.0K
    SHARES

  • हिमाली जिल्लामा दसैँअगावै कांग्रेसको जिल्ला अधिवेशन

    काठमाडौँ — नेपाली कांग्रेसले हिमाली जिल्लाहरुमा दसैँअगावै जिल्ला अधिवेशन सम्पन्न गर्ने निर्णय गरेको छ । १४ औं महाधिवेशनअन्तर्गत हिमाली जिल्लाहरुमा दसैँअघि र अन्यमा दसैँपछि जिल्ला अधिवेशन गर्ने निर्णय कांग्रेसले गरेको हो ।

    सिंहदरबारस्थित कांग्रेस संसदीय दलको कार्यालयमा बसेको पदाधिकारी तथा पूर्वपदाधिकारीहरुको बैठकले हिमाली जिल्लामा अहिले सार्वजनिक भएको कार्यतालिकाअनुसार दसैँअगावै जिल्ला अधिवेशन सम्पन्न गर्ने र बाँकी जिल्लामा भने पालिका तहसम्म मात्रै गर्ने निर्णय गरेको हो ।

    अहिले वडा अधिवेशन सकिएका सबै जिल्लामा ९ असोजमै पालिका तहको अधिवेशन सुरु हुनेछ । कांग्रेसले ९ असोजमा पालिका तह, १२ असोजमा प्रदेश सभा क्षेत्र, १५ असोजमा प्रतिनिधिसभा निर्वाचन क्षेत्र र एकमात्र क्षेत्र भएका जिल्लाको अधिवेशन तथा १८ असोजमा दुई वा सोभन्दा बढी क्षेत्र भएका जिल्लाको अधिवेशन गर्ने कार्यतालिका छ ।

    अहिलेसम्म ६४ जिल्लाको वडा अधिवेशन भइसकेको छ । दसैँपछि हिमाली जिल्लामा चिसो बढ्ने भएकाले पनि ती जिल्लामा दसैँअगावै जिल्ला अधिवेशन सम्पन्न गर्ने निर्णय भएको हो ।

    सरकारी अनुसूचीअनुसार ताप्लेजुङ, संखुवासभा, सोलुखुम्बु, दोलखा, सिन्धुपाल्चोक, रसुवा, मनाङ, मुस्ताङ, डोल्पा, जुम्ला, मुगु, हुम्ला, कालिकोट, बाजुरा, बझाङ, दार्चुला, धादिङ, रामेछाप, गोरखा, रुकुम ९पूर्व० र म्याग्दी गरी २१ जिल्लाहरु हिमाली जिल्ला हुन् । तर, डोल्पा र रसुवामा भने क्रियाशील सदस्यताकै टुंगो लागेको छैन ।

    हिमाली जिल्लामा अहिले तोकेकै मितिमा अधिवेशन गर्न नेताहरुले माग गरेका थिए । पार्टीका केन्द्रीय सदस्य तथा पूर्व मन्त्री जीवनबहादुर शाहीले कम्तीमा हिमाली जिल्लामा अहिले तोकिएकै समयमा अधिवेशन गर्न आग्रह गर्नुभएको थियो ।

    उहाँले अधिवेशन पछाडि सार्दा हिमाली जिल्लामा हिमपातको समस्या पनि हुन सक्ने भन्दै पार्टीका शिर्ष नेताहरुको ध्यानाकर्षण गराउनुभएको थियो ।

     


    बिहिवार, आश्विन ७ २०७८०७:५९:३०
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij