नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सरकारमा बस्नेहरुको मनभित्र मुटु होइन ढुंगा रहेको टिप्पणी गर्नुभएको छ ।
एमाले विशेष कमिटीले आज काठमाडौंमा गरेको कार्यक्रममा ओलीले माधवकुमार नेपाल नेतृत्वको पार्टी र सरकारको चर्को आलोचना गर्नुभयो ।
पार्टीसम्वद्ध कर्मचारी संगठनको कार्यालयमा ताला लगाएकोमा विरोध गर्दै उहाँले सरकारमाथि प्रहरीलाई कानून उल्लंघन गर्ने संयन्त्रका रुपमा प्रयोग गरेको बताउनुभयो ।
‘प्रहरीलाई कस्तो अप्ठ्यारो परेको छ हेर्नुस् त, अह्राएपछि नजाउँ पनि भएन । यो गर, त्यहाँ गएर ताला लगा भनेको छ, होइन भने दुर्गममा सरुवा गरिदिन्छ’,उहाँले भन्नुभयो ।
आफूतिर नलाग्ने शिक्षकलाई दुर्गममा सुरुवा गर्न थालेको भन्दै उहाँले भन्नुभयो, ‘यिनीहरुको त मानवीय मन पनि छैन । यिनीहरुका छातीभित्र मुटु होइन ढुंगा रहेछ ढुंगा । त्यो पनि दर्शनढुंगा भन्छन् नि छिप्पिएको सेतो । त्यस्तो मुटु छ ।’
ओलीले शेरबहादुर देउवा नेतृत्वको वर्तमान सरकारलाई सिस्नुसँग पनि तुलना गर्नुभयो । सरकारलाई जता छोयो त्यतै पोल्ने उहाँको टिप्पणी छ ।
‘कस्तो सरकार आयो आयो । अचम्म लाग्छ । सिस्नुजस्तो । जता छोयो त्यतै पोल्छ । अर्को चुनावमा यसलाई तातोपानी लगाएर ठीक पार्नुपर्छ’, ओलीले भन्नु्भयो ।
आफ्नो नेतृत्वको सरकार थप दुई वर्ष टिकेको भए अन्य पार्टीहरुको ‘सटर बन्द हुने’ दाबी उहाँले गर्नुभयो ।