काठमाडौँ । एक दशकभन्दा लामो व्यवसायिक पत्रकारिताको अनुभव बटुलेका सोलुखुम्बु माप्य दुधकोशीका प्रकाश खालिङ अब क्रियाशील राजनीतिमा होमिएका छन् । २०६४ सालमा काठमाडौँ छिरेपछि व्यवसायिक पत्रकारितामा जोडिएका खालिङ पत्रकारितालाई विशुद्ध व्यवसायका रुपमा अगाडि बढाउने टिमलाई हस्तान्तरण गर्दै सक्रिय राजनीतिमा हेलिएका हुन् ।
२०५९ मा अनेरास्ववियू क्रान्तिकारी बासाखाली माविको सचिव भएर विद्यार्थी राजनीति सुरु गरेका उनी काठमाडौँ छिरेपछि अनेरास्ववियू क्रान्तिकारी रत्नराज्य (आरआर) क्याम्पस कमिटी सदस्य हुँदै त्यो बीचमा क्रान्तिकारी पत्रकार संघमा आवद्ध भएका थिए । क्रान्तिकारी पत्रकार संघको नाम परिवर्तनपछि प्रेस सेन्टरको प्रदेश नम्बर एकको सहसचिव बनेका खालिङ नेकपा एमाले र नेकपा माओवादी केन्द्र एकतापछि बनेको प्रेस संगठन नेपालको प्रस्तावित केन्द्रीय सदस्य थिए ।
त्यो बीचमा मुल पार्टीको जिम्मेवारीलाई सँगसँगै लिएर अघि बढेका उनले तत्कालिन नेकपा सोलुखुम्बु जिल्ला कमिटी सदस्य तथा प्रचार विभाग प्रमुखको जिम्मेवारी सम्हालेका थिए । उनले २०६४, २०७० र २०७४ मा सम्पन्न निर्वाचनमा आफ्नो क्षेत्रको चुनावी कमाण्डरको भूमिका निर्वाह गरेका थिए । अहिले माओवादी केन्द्रले विधान संशोधन गर्दै स्थानीय तह, प्रदेश र केन्द्रीय कमिटीलाई कार्यकारी बनाउने र जिल्लालाई समन्वय समिति मात्रै बनाएपछि जिल्ला समन्वय समितिको सदस्य तथा प्रचार विभाग प्रमुखसँगै माप्य दुधकोशी गाउँपालिका कमिटीको अध्यक्षमा खालिङ निर्विरोध निर्वाचित भएका छन् ।
एक दशक लामो सक्रिय पत्रकारितामा रमाएका उनले यो पेशाबाट थुप्रै सफलता र अनुभवहरु पनि प्राप्त गरेका छन् । ‘पत्रकारले राजनीतिक जिम्मेवारी लियो भन्ने सन्दर्भमा मैले हिजो पत्रकारितालाई पेशा र व्यवसाय बनाएर क्रियाशील रुपमा लागं । त्यसबखत थुप्रै सफलता र अनुभवहरु प्राप्त गरियो’, अध्यक्ष खालिङ भन्छन्, ‘त्यतिखेर पनि विभिन्न रुपबाट सामाजिक सेवामा आवछ थिएँ । आजको आवश्यकताले गर्दा क्रियाशील राजनीतिमा लागियो ।’ अब पत्रकारितामा आफूले गरेको सम्पूर्ण लगानी एउटा विशुद्ध व्यवसायमा अगाडि बढाउने टिमलाई हस्तान्तरण गर्दै राजनीतिमार्फत समाज सेवामा क्रियाशील हुने उनी बताउँछन् ।