प्रतिनिधि सभाबाट हिजो पारित भएको नयाँ बजेटलाई आज राष्ट्रिय सभामा पेश गर्ने सरकारले तयारी गरेको छ ।
प्रमुख प्रतिपक्षी दल नेकपा एमालेको विरोधका बीच पारित भएको बजेटलाई राष्ट्रिय सभामा पेश गर्दा भने विवाद नगराउने प्रयास पनि भइरहेको छ ।
राष्ट्रिय सभामा अवरोध नहोस भन्ने उद्धेश्यले आज विहान राष्ट्रिय सभा अन्तर्गतको कार्यव्यवस्था परामर्श समितिको बैठक बोलाइएको छ ।
समितिको बैठकले दिउसो १ बजेपछि बस्ने राष्ट्रिय सभाको बैठकको कार्यसूची तय गर्नेछ । बजेट पेस गर्ने विषयलाई पनि कार्यसूचीमा राख्न सरकारी पक्षले पहल गर्ने भएको छ ।
सहमती भएमा विनियोजन विधेयक भन्ने गरिएको बजेट प्रस्ताव राष्ट्रिय सभामा पेस गरेपछि विचार गरियोस् भनेर पारित हुने सम्भावना छ ।
त्यसपछि यो विधेयकमाथिको छलफल अर्को ७२ घण्टापछि हुनेछ । राष्ट्रिय सभाबाट पारित गरेर राष्ट्रपतिले प्रमाणीकरण गरेपछि मात्रै नयाँ बजेट लागू हुन्छ ।
राष्ट्रिय सभाको कार्यतालिका, विधेयकमाथि छलफल गर्न दिनैपर्ने समयअनुसार नियमित गतिमै काम भए बजेटसँग सम्बन्धित विधेयक पास भई आगामी साताबाट मात्रै सरकारी खर्च फुकुवा हुने सम्भावना देखिन्छ ।