काठमाडौँ । कञ्चनपुरकी १३ वर्षीया किशोरी निर्मला पन्तको बलात्कारपछि हत्या प्रकरणमा प्रमाण नष्ट गरेको अभियोग लागेका आठजना प्रहरीले सफाइ पाएका छन् ।
कञ्चनपुर जिल्ला अदालतले तत्कालीन जिल्लाका प्रमुख एसपी डिल्लीराज विष्ट, डीएसपीद्वय अंगुर जिसी र ज्ञानबहादुर सेठी, प्रहरी निरीक्षकहरु एकिन्द्रबहादुर खड्का र जगदीशप्रसाद भट्ट, सईहरु हरसिंह धामी र रामसिंह धामीसहित जवान चाँदनी साउँदलाई निर्दोष ठहर गरेको हो ।
जिल्ला अदालत कञ्चनपुरका श्रेष्तेदार यदुराज शर्माले प्रमाण नष्ट गरेको र यातना दिएको अभियोगमा उनीहरुलाई सफाई दिइएको जानकारी दिनुभयो ।
२०७५ साउन १० गते दिउँसोदेखि हराएकी निर्मलाको दोस्रो दिन बलात्कारपछि हत्या गरेको अवस्थामा शव भेटिएको थियो । उक्त घटनाको अनुसन्धानमा गम्भीर लापर्वाही गरेको र हत्यारा जोगाउन प्रमाण नष्ट गर्ने र नक्कली अपराधी खडा गर्ने कार्य गरेको भन्दै प्रहरी अधिकारीहरुविरुद्ध मुद्दा दायर भएको थियो ।
निर्मलाकी आमा दूर्गादेवी पन्त र प्रहरीले अभियुक्त भन्दै सार्वजनिक गरेका दिलिपसिंह विष्टका दाजु खड्कसिंह विष्टको जाहेरीका आधारमा जिल्ला सरकारी वकिल कार्यालय कञ्चनपुरले प्रहरीहरूविरुद्ध मुद्दा चलाएको थियो । उक्त मुद्दामा सफाइ पाएपछि तत्कालीन जिल्लाका प्रमुख एसपी डिल्लीराज विष्टले अदालतको फैसला सकारात्मक रहेको बताउनुभयो ।
नेपाली रेडियो नेटवर्कलाई प्रतिक्रिया दिँदै उहाँले अदालतको फैसला सकारात्मक रहेको र आफूहरु अब निर्मलाले न्याय पाउनुपर्छ भन्ने कुरामा दत्तचित्त भएर लाग्ने बताउनुभयो ।
निर्मला प्रकरणमा प्रमाण नष्ट गरेको र नक्कली अपराधी खडा गरेको भन्दै चौतर्फी आलोचना भएपछि सरकारी छानबिन टोलीले बुझाएको प्रतिवेदनका आधारमा सरकारले एसपी विष्टसहित आठ प्रहरीहरुलाई निलम्बन गरेको थियो । तर घटनामा संलग्न मुख्य अभियुक्तलाई भने प्रहरीले अहिलेसम्म पक्राउ गर्न सकेको छैन ।
प्रमाण नष्ट र नक्कली अपराधी खडा गर्ने कार्यमा संलग्न रहेको अभियोग लागेका आठ प्रहरीलाई जिल्ला अदालतले सफाई दिएपछि यसबारे मिश्रित प्रतिक्रियाहरु आइरहेका छन् ।
कतिपयले भीडको आवाजलाई आधार मानेर प्रहरीले गरेको गल्ती अदालतले सच्याएको टिप्पणी गरेका छन् भने कतिपयले अदालतको फैसलामा प्रश्न उठाएका छन् । कञ्चनपुरका पत्रकार खेम भण्डारीले प्रमाण नष्ट भएको छैन भन्दै अदालतले सफाई दिएको उल्लेख गर्दै त्यसो भए प्रमाण कहाँ छ भन्दै प्रश्न गर्नुभयो ।
यता बलात्कारपछि हत्या गरिएकी किशोरी निर्मला पन्तकी आमा दुर्वादेवीले भने अदालतको आजको फैसलाबारे प्रतिक्रिया दिँदै हर्ष न बिस्मातको रुपमा आफूले लिएको बताउनुभयो । नेपाली रेडियो नेटवर्कसँग कुरा गर्दै उहाँले छोरीले न्याय पाएका दिन मात्रै आफूलाई खुशी लाग्ने बताउनुभयो ।
निर्मला पन्तको बलात्कारपछि हत्या भएको दुई वर्ष भन्दा धेरै भइसकेको छ । तर अहिलेसम्म घटनाका दोषी पत्ता लगाउन सरकार असफल छ । यो प्रकरणमा निलम्बनमा परेका एसपीसहितका प्रहरी अधिकारीहरुले अदालतबाट सफाइ पाएपछि अब उनीहरुको पुनर्वहालीको विषय के हुन्छ भन्नेमा पनि धेरैको चासो छ ।
तर कञ्चनपुर जिल्ला अदालतबाट सफाइ पाएका उनीहरुले निलम्बनको कारबाहीविरुद्ध दायर गरेको मुद्दा भने विचाराधिन नै रहेकोले तत्कालका लागि पुनर्वाहालीको सम्भावना नरहेको कानुनका जानकारहरु बताउँछन्।