काठमाडौँ – नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले १४ सांसदको पद खारेजीसम्बन्धी विषयमा दायर गरेको रिटमा सर्वोच्च अदालतबाट सोमबार आदेश आएन ।
न्यायाधीश दीपककुमार कार्की र कुमार चुडालको इजलासमा रहेको उक्त मुद्दामा सुनुवाइ नसिकएपछि हेर्दोहर्दैमा राखिएको छ । अब यसको सुनुवाई मंगलबार हुनेछ ।
आफूले गरेको १४ सांसदको कारबाहीलाई मान्यता नदिने सभामुख अग्निप्रसाद सापकोटाको निर्णय बदर हुनुपर्ने माग राखी एमाले अध्यक्ष ओलीले सर्वोच्चमा रिट दिनुभएको थियो ।
यसैसँग सम्बन्धित अर्को रिटमा ओलीले ती १४ सांसदको हस्ताक्षर समावेश गरी दर्ता गरिएको नेकपा एकीकृत समाजवादी खारेज गर्न माग गर्नुभएको थियो ।
यो रिटमा भदौ २२ गते प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबराको एकल इजलासले विपक्षीसँग लिखित जवाफ माग गर्दै भदौ २८ गते अन्तरिम आदेशका लागि छलफलमा बोलाएको थियो ।
तर भदौ २८ गते न्यायाधीश दीपककुमार कार्की र मीरा खड्काको इजलासमा राखिए पनि हेर्न नभ्याइनेमा परेर सुनुवाइ हुन सकेको थिएन ।
त्यसपछि यस रिटमा आज सुनुवाइ भएको हो । तर सुनुवाइ नसकिएपछि हेर्दाहेर्दैमा राखिएको छ ।