काठमाडौँ । प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले प्रतिनिधि सभाको आजको बैठक पनि अवरुद्ध गर्ने भएको छ । आजको बैठकमा सरकारले प्रतिस्थापन बजेट पारित गर्ने योजना बनाएको छ । सभामुख अग्नी प्रसाद सापकोटोको भूमिका प्रति असन्तुष्टि जनाउदै संसद अवरोध गर्दै आएको एमालेले आज पनि संसद अवरोधलाई निरन्तरता दिने भएको हो ।
नेपाली रेडियो नेटवर्कको नेपाली बहसमा पत्रकार ऋषि धमलासँगको कुराकानीका क्रममा एमाले नेता लालबाबु पण्डितले प्रमुख प्रतिपक्षको मागलाई बेवास्ता गर्दै सभामुख सापकोटाले जबरजस्ती संसद चलाइरहेको आरोप लगाउनुभयो । उहाँले सरकारले बजेट पास गर्ने, विधेयक पास गर्ने जस्ता महत्वपुर्ण कार्यहरु नगरी पार्टीहरुलाई फुटाउने जस्ता लज्जास्पद कार्य गरेकोले आफुहरुको विरोध संवैधानिक र कानुनी भएको दावी गर्नुभयो ।
“संसदमा तोडफोड नगरी शान्तीपुर्ण ढंगले बिरोध गर्न पाइन्छ, त्यो हामी गरिरहन्छौँ,” एमाले नेता पण्डितले भन्नुभयो।
आफुहरुले विरोध गरिरहँदा पनि आफुहरुसँग छलफल गर्ने र माग सम्वोधन गर्ने उपाय नखोजी सभामुख सापकोटाले संसद चलाएको भन्दै उहाँले आक्रोश पनि प्रकट गर्नुभयो ।
पार्टीको विधानका बारेमा उहाँले एमालेलाई फेरि पनि नेपालको सवैभन्दा ठूलो पार्टी र जनताको लोकप्रिय पार्टी बनाउने गरी विधान संशोधन गर्न लागिएको जानकारी दिनुभयो । एमालेका तत्कालिन बरिष्ठ नेता माधव कुमार नेपालले नयाँ पार्टी स्थापना गरेको प्रति लक्षित गर्दै उहाँले एमालेबाट केही नेता कार्यकर्ता बाहिरिए पनि फेरी पार्टी प्रवेशको लहर चलिरहेको दावी गर्नुभयो ।
बरिष्ठ नेता नेपालले पार्टीबाट भागेर माओवादीको सहायक पार्टी एकिकृत समाजवादी खोलेको भन्दै उहाँलाई नेता पण्डितले भगौडेको संज्ञा दिनुभयो । बरिष्ठ नेता नेपाल बाहेक सबै नेता कार्यकर्ता फेरी एमालेमा आउने आफुलाई बिश्वास रहेको पनि उहाँले नेपाली रेडियो नेटवर्कलाई बताउनुभयो ।