काठमाडौँ । पूर्वसभामुख दमननाथ ढुंगानाले नेपाली कांग्रेसले संविधान दिवस नमनाएकामा असन्तुष्टि जनाएका छन् । आज काठमाडौंमा आयोजित कार्यक्रममा उनले सेनाले टुँडिखेलमा तोप पड्काउँदैमा संविधान दिवसको औचित्य पूरा नहुने बताए ।
‘कम्तीमा कांग्रेसले संविधान दिवस मनाउन देशव्यापी सर्कुलर गर्नुपर्ने थियो । प्रत्येक वर्ष कांग्रेसको तल्लो तहको इकाइसम्म संविधान दिवस मनाउनुपर्छ,’ उनले भने, ‘यसले संविधानलाई संस्थागत र दिगो बनाउँछ । काठमाडौंमा प्रधानमन्त्रीको अगाडि सेनाले तोप पड्काउँदैमा दिवस हुँदैन ।’
प्रत्येक विद्यालय र सरकारी कार्यालयमा संविधान दिवस मनाउनुपर्ने पूर्वसभामुख ढुंगानाको भनाइ छ । २०७२ साल असोज ३ गते संविधान जारी भएको दिनको सम्झनामा हरेक वर्ष यो दिन संविधान दिवस मनाइन्छ । संविधान दिवसमा सरकारले सार्वजनिक विदा पनि दिने गरेको छ ।
पूर्वसभामुख ढुंगानाले संविधान भत्काउन खोज्ने र सुदृढ बनाउन खोज्नेबीच द्वन्द्व भइरहेको भन्दै संविधानको सर्वस्वीकार्यताका लागि संशोधन गर्दै लैजानुपर्ने बताए ।