काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले आगामी महाधिवेशन प्रभावित पार्ने गरी गतिविधि गरेको भन्दै वरिष्ठ नेता रामचन्द्र पौडेल पक्ष सार्वजनिक रुपमै प्रतिवादमा उत्रिएको छ । देउवाले हालै कांग्रेसका विभिन्न केन्द्रीय विभाग गठन गरेकामा असन्तुष्ट पौडेल समूहले आज देउवालाई भेटेर यस विषयमा लिखित असहमति बुझाएको थियो ।
तर देउवाले सम्बोधन गर्ने ठोस प्रतिवद्धता नजनाएको भन्दै यो समूहृले आज पत्रकार सम्मेलन गरेर सार्वजनिक रुपमै विरोधमा उत्रिएको हो ।
तत्कालीन पार्टी सभापति सुशील कोइरालाको कार्यकालको तेस्रो वर्षमा गरेको विभाग गठनलाई स्वयं वर्तमान सभापति शेरबहादुर देउवाले अस्वीकार गरेपछि सबै विभाग खारेज गरेको पनि पौडेल समूहले स्मरण गराएको छ ।
पौडेलले विधान विपरीत भएका गतिविधिलाई नै महाधिवेशनको एजेण्डा बनाउने घोषण गर्नुभयो उहाँले देशभरका नेता कार्यकर्तालाई विधान विपरीतका गतिविधिलाई साथ नदिन आग्रह गर्नुभयो । पत्रकार सम्मेलनमा महामन्त्री डा. शशांक कोइराला, केन्द्रीय सदस्य शेखर कोइराला पनि सहभागी हुनुहुन्थ्यो ।