Nov 08 2026 | २०८३, कार्तिक २३ गते

२०८३, कार्तिक २३ गते
  • यो साता चर्चामा :
images
प्रचण्डको दाबी

‘अब माओवादीलाई पहिलो पार्टी हुनबाट कसैले रोक्न सक्दैन’

‘अब माओवादीलाई पहिलो पार्टी हुनबाट कसैले रोक्न सक्दैन’

  • बुधवार, भाद्र ३० २०७८

  • 1.2K
    SHARES

  • ‘अब माओवादीलाई पहिलो पार्टी हुनबाट कसैले रोक्न सक्दैन’

    काठमाडौँ । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड)ले आउँदो निर्वाचनबाट माओवादीलाई पहिलो पार्टी हुनबाट कसैले रोक्न नसक्ने बताएका छन् । माओवादी मुख्यालय पेरिसडाँडामा बुधबार बिहान आयोजित दिवंगत माओवादी नेता पोष्टबहादुर बोगटी ‘दिवाकर’को ७औं स्मृति दिवसमा आयोजित कार्यक्रममा बोल्दै अध्यक्ष प्रचण्डले अहिले कसैले नपत्याए पनि माओवादी पहिलो पार्टी हुने जिकिर गरेका हुन् ।

    ‘हामीले जनयुद्ध सुरु गर्दा पनि कसैले पत्याएका थिएनन्, शान्ति प्रक्रियामा आएपछि पनि पहिलो पार्टी हुन्छ भनेर कसैले पत्याएका थिएनन्,’ उनले विगत स्मरण गर्दै भने, ‘जनतालाई प्रचण्डलाई देखियो, एकपटक छुन पाए हुन्थ्यो भन्ने थियो, तर विपक्षीहरुले बन्दुक देखाएर दुई/चार सिट ल्याउँछ भन्थे ।’

    पहिलो संविधानसभामा माओवादीको पक्षमा जनलहर ‘छप्पर फाटेर’ आएको र अब त्यस्तै माहोल ल्याउन पार्टी पुनर्गठन र रुपान्तरणको अभियान सुरु गरेको प्रचण्डको भनाइ छ । यसबीचमा नेपाली जनताले माओवादी नै देशभक्त, गणतन्त्रवादी, संघीयतावादी शक्ति रहेछ भन्ने थाहा पाइसकेका भन्दै उनले यो १५ वर्ष देशको राम्रोसँग नेतृत्व गर्न नपाई बितेको बताए ।

    प्रचण्डले दुईपटक आफूले सरकारको नेतृत्व गरेको र छोटो समयमै माओवादीबाट १०० भन्दा बढी मन्त्री बनाएको स्मरण पनि गरे । ८/१० वर्ष अरुलाई गाली गरेर बितेकको स्वीकार्दै उनले भने, ‘अब आफैंलाई गाली गर्न थालौं ।’ सत्तारुढ गठबन्धनको नेता समेत रहेका प्रचण्डले माओवादी पार्टी मित्रहरूको खोजीमा रहेको भन्दै अहिलेको गठबन्धन अर्को निर्वाचनसम्म जान सक्ने संकेत पनि गरे । ‘हामी मित्रहरुको खोजीमा छौं,’ उनले भने, ‘यही गठबन्धनलाई अगाडि दुई तिहाईको सरकार बनाउने अवसरबाट हामी टाढा भएका छैनौं ।’

    गठबन्धन अगाडि नबढे सडक आन्दोलनमा अगाडि जाने विकल्पमा अगाडि बढ्ने उनले संकेत गरे । ‘यो विकृत प्रणालीलाई बदल्नको लागि हामी सडकमा जानुपर्ने पनि हुनसक्छ,’ उनले भने, ‘हामीले संवाद, सहकार्य र सहमतिको पक्षलाई पनि जोड दिइरहेका छौं ।’ उनले यो देशमा प्रतिक्रान्ति, प्रतिगमन नहोस् भनेर संविधान गणतन्त्र र लोकतन्त्रका पक्षपातीहरुको गठबन्धनलाई अगाडि लिएर जाने कुरालाई पहिलो प्राथमिकतामा राख्ने संकेत गरेका छन् ।


    बुधवार, भाद्र ३० २०७८०१:२८:१८
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij