काठमाडौं – एमाले नेता लेखराज भट्ट र भीम रावल दुवैले पार्टीको सुदूरपश्चिम इन्चार्ज आफू नै रहेको दाबी गर्नुभएको छ ।
गृहप्रदेशमा रहेका दुवै नेताले सुदूरपश्चिम इन्चार्ज आ–आफू नै रहेको दाबी गरेपछि एमाले नेता तथा कार्यकर्ताहरु अन्यौलमा परेका छन् ।
अध्यक्ष केपी शर्मा ओलीले सुदूरपश्चिम इन्चार्ज लेखराज भट्ट नै रहने स्पष्ट पारिसक्दा पनि उपाध्यक्ष भीम रावलले स्वीकार नगर्नुभएको हो ।
आज धनगढीमा कार्यकर्ता भेलालाई सम्बोधन गर्दै रावलले १० बुँदे सहमति हुबहु कार्यान्वयन गर्ने सहमति भएबमोजिम प्रदेश इन्चार्ज आफू नै रहेको दाबी गर्नुभयो ।
उहाँले पार्टीको रक्षाका लागि त्याग गर्न आफू तयार रहे पनि पेलेरै जान खोजे मान्य नहुने चेतावनी दिनुभयो ।
पार्टीभित्रको अराजकताविरुद्ध लड्न सक्ने हिम्मत रहेको दाबी गर्दै रावलले आफूलाई सुदूरपश्चिम प्रदेश इन्चार्जबाट हटाइएको समाचार प्रायोजित रहेको दाबी गर्नुभयो ।
एमाले उपाध्यक्ष रावलले आफ्नो साथ छाडेर नेकपा एकीकृत समाजवादीमा गएका नेताहरुलाई सिद्धान्त बेचेको आरोप लगाउनुभयो ।
हिजो तपाईँका लागि ज्यान दिन तयार छु भन्नेहरुले नै अहिले पदको लोभका लागि साथ छाडेको भन्दै रावलले दुखेसो पोख्नुभयो ।
विभाजनले पार्टीलाई ठूलो क्षति गरेको उल्लेख गर्दै रावलले गाउँ गाउँमा उत्साहका साथ लागेर क्षतिपूर्ति गर्न कार्यकर्ताहरुलाई निर्देशन दिनुभयो ।
पार्टीमा माओवादी पृष्ठभूमिबाट आएका र लामो समयदेखि एमालेमै रहेर त्याग गरेका सबै नेताहरुलाई अब अन्याय हुन नदिने र पक्षपात पनि नगर्ने नेता रावलको भनाइ थियो ।
सम्बोधनका क्रममा लेखराज भट्टको नाम नलिइ नेता रावलले कुनै व्यक्तिलाई ल्याएर जबरजस्ती पेल्ने काम भयो भने मान्य नहुने चेतावनी दिनुभयो ।
आजै सुदूरपश्चिमको कञ्चनपुरमा आयोजित पत्रकार सम्मेलनमा नेता लेखराज भट्टले एमालेको सुदूरपश्चिम इन्चार्ज आफू नै रहेको दाबी गर्नुभयो ।
अध्यक्ष ओलीले स्थायी कमिटी, केन्द्रीय कमिटीको बैठकसहित आफूहरुलाई निवासमै बोलाएर पनि प्रदेश इन्चार्ज लेखराज भट्ट नै रहने स्पष्ट पारिसक्नुभएको उहाँले बताउनुभयो ।
माओवादी पृष्ठभूमिका एमाले नेता भट्टले आफू र उपाध्यक्ष रावलबीच कुनै मतभेद पनि नरहेको दाबी गर्नुभयो ।
सुदूरपश्चिममा विगतदेखि नै आफूहरु सहकार्य गरेर अघि बढेको र त्यसले फेरि पनि निरन्तरता पाउने उहाँले बताउनुभयो ।
नेकपा एकता भंग भएपछि लेखराज भट्ट माओवादी त्यागेर ओलीलाई साथ दिएका एमाले नेता हुन् भने रावल एमालेको आन्तरिक संघर्षका बेला माधवकुमार नेपालको साथमा रहेर ओलीविरुद्ध लागेका नेता ।
तर माधव नेपालले एमाले त्यागेर नयाँ पार्टी खोलेपछि रावल एमालेमै रोकिनुभएको हो ।
प्रचण्ड र माधव नेपालहरुसँगको संघर्षमा आफूलाई साथ दिएका पूर्व माओवादी नेतालाई ओलीले डढेलोपछि उम्रिएका पालुवा भन्दै उनीहरुको रेखदेख आफूले गर्ने घोषणा गर्नुभएको थियो ।