काठमाडौँ । नेकपा एकिकृत समाजवादी पार्टीले प्रदेश एक र बागमती प्रदेशका मुख्यमन्त्रीलाई दिएको समर्थन फिर्ता लिने भएको छ । दुवै प्रदेशको संसदीय दलको बैठकले उहाँहरुलाई दिएको समर्थन फिर्ता लिने निर्णय गर्न लागेको पार्टीका नेता डा बेदुराम भुसालले जानकारी दिनुभयो । संभवत : आज दुवै प्रदेशका संसदीय दलको बैठक बस्ने छन र समर्थन फिर्ता लिने निर्णय गर्नेछन, नेता भुसालले नेपाली रेडियो नेटवर्कसँग भन्नुभयो ।
संसदीय दलको निर्णयका आधारमा पार्टीको तर्फबाट सम्वन्धीत प्रदेश सभा सचिवालय वा प्रदेश प्रमुखको कार्यालयलाई समर्थन फिर्ताको पत्र पठाइएको उहाँले बताउनुभयो । प्रदेश एकका मुख्यमन्त्री भिम आचार्य र बागमती प्रदेशकी मुख्यमन्त्री अष्टलक्ष्मी शाक्यले मुख्यमन्त्री बन्ने बेलामा पार्टी विभाजन नभएपनि आफुहरुकै समूहबाट उम्मेदवारी दिएकाले समर्थन गरको उहाँको भनाई छ । तर उहाँहरु मुख्यमन्त्री बनेको केही दिनमा पार्टी विभाजन भएको र उहाँहरु एमाले तर्फ लागेकाले आफुहरुले समर्थन फिर्ता लिन लागेको भुसालले प्रष्ट पार्नुभयो ।
एमालेबाट विभाजति भएर बनेको नेकपा समाजवादी पार्टीका नेता भूसालले भन्नुभयो, “उहाँहरुलाई समर्थन गर्न त कि उहाँहरु हाम्रो पार्टीको हुनु परो की उहाँहरुको पार्टी र हाम्रो पार्टीका बीचमा सहमती हुनु परो, तर दुवै नभएको अवस्थामा समर्थन फिर्ता स्वभाविक हो ।” नेकपा समाजवादीले समर्थन फिर्ता लिएपछि दुवै मुख्यमन्त्रीको बहुमत गुम्ने र सरकार ढल्ने भएको छ । दुवै प्रदेशमा केन्द्रको सत्तारुढ गठबन्धनका आधारमा नयाँ सरकार गठन हुने भएका छन् ।