काठमाडौँ । प्रधानमन्त्री तथा नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवा पुर्वराजा ज्ञानेन्द्र शाहकै पथमा लागेको काँग्रेसकै नेताहरुले आरोप लगाएका छन् । सभापति देउवाको गृह जिल्ला डडेलधुरामा स्थानीय जिल्ला कार्यसमितिको असहमतिका बीच हिजो जबरजस्ती वडा अधिवेशन गरिएपछि पार्टीका नेताहरुले सभापति देउवा ज्ञानेन्द्र पथमा लागेको आरोप लगाएका हुन ।
पार्टीको आन्तरिक निर्वाचन, त्यो पनि आफ्नै गृहजिल्लामा सुरक्षाकर्मीहरु मार्फत पेलेर निर्वाचन गराउनु लोकतान्त्रिक मान्यता विपरित भएको उनीहरुको भनाइ छ ।
नेपाली रेडियो नेटवर्कको नेपाली बहसमा पत्रकार ऋषि धमलासँग कुराकानी गर्दै काँग्रेस नेता डा. शेखर कोइरालाले देउवाले पनि ज्ञानेन्द्रले झैँ तानाशाही व्यवहार गर्न खोजेको आरोप लगाउनुभयो । आगामी महाविधेशनमा सभापतिको उम्मेदवारी घोषणा समेत गर्नुभएका नेता कोइरालाले देउवा आफ्नै जिल्ला डडेलधुराबाट डड्दै गएको टिप्पणी गर्नुभयो ।
“तत्कालिन राजा ज्ञानेन्द्र शाहले जसरी नगरपालिकाको निर्वाचन गराएका थिए, देउवाजीले पनि त्यस्तै गर्न खोज्नु भएको छ, यो स्विकार्य हुन सक्दैन,” उहाँले भन्नुभयो । सभापति देउवाको भूमिकाप्रति पार्टीका वरिष्ठ नेता रामचन्द्र पौडेल लगायतका धेरै नेताहरुले आक्रोश व्यक्त गरेका छन् ।
यसअघि काँग्रेसका डा चन्द्र भण्डारी नेतृत्वका १२ युवा नेताहरुले पनि हिजो संयुक्त वक्तव्य प्रकाशित गरी सभापति देउवाले जवरजस्ती गर्न खोजेको भन्दै आपत्ति प्रकट गरेका छन् । नेता कोइरालाले काँग्रेसको केन्द्रीय निर्वाचन समिति पनि पिछलग्गु भएको र निष्पक्ष अधिवेशन गराउनेभन्दा पनि देउवाको इसारामा काम गर्न खोजेको आरोप लगाउनुभयो ।