काठमाडौँ । सभामुखले विभेदपूर्ण व्यवहार गरेको भन्दै प्रतिनिधिसभामा अघिल्लो बैठकबाटै अवरोध गर्दै आएको प्रमुख प्रतिपक्षी दल नेकपा एमाले आज झन् आक्रमक शैलीमा संसदमा प्रस्तुत भयो । आफूहरुले कारबाही गरेका १४ सांसदलाई पदमुक्त नगरी एमाले फुटाउन सभामुख अग्नि सापकाटाले सहयोगी भूमिका खेलेको भन्दै संसद चल्न नदिने अडानमा एमाले छ ।
बुधबारदेखि सुरु भएको संसदको अधिवेशनमा निरन्तर एमालेले विरोध जारी राखेको छ । अहिले एमालेकै विरोधका कारण बैठक दिनमै दुईतीन पटकसम्म स्थगित हुँदै बस्दै गरेको छ । एमालेकै अवरोधका बाबजुत सभामुख सापकोटाले अर्थमन्त्री जनार्दन शर्मालाई बजेट प्रतिस्थापन विधेयक पेस गर्न अनुमति दिएपछि झन् बढी आक्रोशित भएका एमाले सांसदहरुले आज चर्को नाराबाजी मात्र गरेनन्, मर्यादापालकहरुकै काँध र टाउकामा टेक्दै रोष्ट्रममा नै हाम फाल्न खोजे ।
एमाले सांसद रेखाकुमारी झाले गृहमन्त्री बालकृष्ण खाँणको टेबुलको माइक झिकेर रोष्ट्रमतर्फ हान्ने कोसिस् समेत गर्नुभयो । बैठकपछि संसद भवनबाट बाहिरिने क्रममा सांसद झाले आफू भौतिक आक्रमणमै उत्रिन तयार रहेको स्वीकार्नुभयो । माइक किन र कसलाई हान्न तान्नुभयो भन्ने पत्रकारहरुको प्रश्नमा प्रतिपक्षीलाई पेलेर अघि बढ्न खोजेपछि सभामुख र अर्थमन्त्रीलाई हान्न तयार भएको उहाँले बताउनुभयो ।
प्रतिनिधिसभामा आज सांसद झासहित झण्डै आधा जर्दन सांसदको शैली एउटै थियो । उनीहरु मर्यादापालकहरुमाथि नै चढेर रोष्ट्रमतिर झम्टिएका थिए ।
यता, पूर्वसभामुखहरुले भने प्रतिनिधिसभामा आज एमालेले गरेको विरोधको शैली संसदीय मर्यादाविपरित भएको टिप्पणी गरेका छन् ।

पूर्वसभामुख तारानाथ रानाभाटले एमालेका कुनै सांसदको हर्कत र प्रयत्न संसदीय मर्यादा अनुरुप नदेखिएको बताउनुभयो । चित्त नबुझेको कुरामा विरोध गर्न पाउने नैसर्गिक अधिकार भएपनि संस्था र व्यवस्थाकै धज्जी उडाउनेगरी विरोध गर्नु गलत भएको उहाँले बताउनुभयो ।
अर्का पूर्वसाभामुख दमननाथ ढुंगानाले पनि फरक शैली अपनाएर विरोध गर्न सकिने भन्दै आज एमालेले संसदमा देखाएको शैली ठिक नभएको बताउनुभयो । आचारणमाथि प्रश्न उठाउँदै उहाँले शिष्ट र सभ्य व्यवाहारबाट विरोध गर्नुपर्नेमा जोड दिनुभयो ।

पूर्वसभामुख ढुंगानाले केही विवादका विषय सदनमै हल गर्न सम्भव नहुने भन्दै त्यसलाई सदन बाहिर पनि निरुपन गर्नुपर्ने बताउनुभयो । द्वन्द्व जोसँग जसको भएपनि विवादका विषयमा सभामुखमार्फत् निकास खोज्नुपर्ने र समाधान भएपछि मात्र सदन सञ्चालन गर्नुपर्ने उहाँले बताउनुभयो ।
सभामुख सापकोटाको व्यवहार नै पक्षपाती भएको भन्दै विपक्षी दल एमालेले निरन्तर संसद अवरोध गर्दै आएको छ । जसपा सांसद सरिता गिरी र माओवादीले केन्द्रले कारबाही गरेका सांसदहरुलाई तत्कालनै पदमुक्त गरिएको सूचना जारी गरेको तर एमालेले कारबाही गरेका १४ सांसदलाई एकीकृत समाजवादीमा समाहित गरेर एमाले विभाजनमा सहयोगी भूमिका खेलेको भन्दै एमालेले सभामुखमाथि प्रश्न उठाइरहेको हो । तर विरोध गर्दा संदीय मर्यादा, विधि, कानुन र नियमम्मत हुनुपर्छ भन्नेमा एमाले सांसदहरु सचेत हुनुपर्ने देखिन्छ ।